रुकुम पश्चिममा पनि प्रजातन्त्र दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरी सोमबार ७४ औँ प्रजातन्त्र दिवस मनाइएको हो । दिवसको अवसरमा सोमबार साँझ जिल्ला सदरमुकाम मुसिकोटमा दीप प्रज्वलन गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला समन्वय समितिको प्राङ्गणमा दीप प्रज्वलन गरिएको हो । त्यस्तै कार्यक्रमका सहभागीहरूले एक अर्कामा प्रजातन्त्र दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।
प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर बिक, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पन्तले आजको दिनले सम्पूर्ण नेपालको सुनौलो भविष्यको सुरुवात गरेको बताउनुभयो । जहानियाँ राना शासनको अन्त्य गर्दै प्रजातन्त्रको बिगुल फुकेको आजको दिन सबै नेपालीका लागि गौरवपूर्ण र ऐतिहासिक भएको उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति प्रमुख गौतमले २००७ फागुन ७ गतेको जगमा टेकेर नेपाल हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेकोले आजको दिनलाई भुल्न नहुने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी जीतबहादुर ओलीले गर्नुभएको थियो ।