रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरिगाउँमा रहेको न्यु मुनलाइट बोर्डिङ स्कुलले आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरेर १९ औँ वार्षिकोत्सव मनाएको हो । विद्यालयले केही दिनअघिबाट विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आज वार्षिकोत्सवको मूल समारोह कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको स्कुलका प्रिन्सिपल खड्कबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मूल समारोहमा वार्षिकोत्सवको अवसरमा न्यु मुनलाइट बोर्डिङ र यमुना नन्द नमुना माध्यमिक विद्यालय बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको विजेता समूहलाई ट्रफि वितरणका साथै अन्य विधामा विजेता भएकालाई पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरिएको प्रिन्सिपल कुँवरले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले नृत्य, अभिनय लगायत अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै ५ नम्बर वडा अध्यक्ष समिरजङ मल्ल, शिक्षा विकास समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रिन्सिपल कुँवरले गर्नुभएको थियो ।