रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सम्मानित भएको छ । कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा रुकुम पश्चिमका तर्फबाट सानीभेरी गाउँपालिका सम्मानित भएको हो । खेलकुदमा विशेष योगदान गरेको भन्दै प्रदेश खेलकुद परिषद्ले प्रदेशका १० वटै जिल्लाबाट एक एक वटा स्थानीय तहलाई सम्मान गरेको थियो ।
जसअन्तर्गत रुकुम पश्चिमबाट सानीभेरी गाउँपालिका सम्मानित भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । खेलकुदमा लगानी गरिरहेका, खेल क्षेत्रमा ध्यान दिएका स्थानीय तहलाई छनौट गरी सम्मान गरिएको उहाँले बताउनुभयो । रुकुम पश्चिम जिल्लामा अन्य स्थानीय तहको तुलनामा सानीभेरी गाउँपालिकाले राम्रो गरिरहेकोले छनौटमा परेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
त्यस्तै अन्य जिल्ला अन्तर्गत दैलेखको ठाँटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, जुम्लाको तातापानी गाउँपालिका, कालिकोटको तिलागुफा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, मुगुको सोरु गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिकालाई सम्मान गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले सम्मान गर्नुभएको थियो ।।