कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भलिबल तर्फ छात्र छात्रा दुवैमा रुकुम पश्चिम विजेता बनेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आज भएको फाइनलमा छात्र छात्रा दुवैमा विजयी हुँदै रुकुम पश्चिमले उपाधि हात पारेको छ ।
छात्र तर्फ रुकुम पश्चिमले कालिकोटलाई हरायो भने छात्रा तर्फ सल्यानलाई पराजित गर्दै रुकुम पश्चिम च्याम्पियन बनेको भलिबल प्रशिक्षक तेज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार छात्र छात्रा दुवै तर्फ रुकुम पश्चिम ३–१ ले विजयी भयो ।
यो सँगै रुकुम पश्चिमले पहिलो पटक प्रदेश स्तरीय प्रतियोगितामा महिला पुरुष दुवै तर्फको उपाधि हात पारेको छ । आजै भएको सेमिफाइनलमा छात्र टिम सल्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको थियो भने छात्रा टिमले सेमिफाइनलमा सुर्खेतलाई पराजित गरेको थियो ।
प्रशिक्षक बुढाका अनुसार छात्रा टोलीले पनि ३–० को सोझे सेटमा जित निकालेको थियो । फागुन ७ गतेदेखि सुरु भएको प्रदेश स्तरीय शिल्ड आज बुधवार सम्पन्न भएको छ ।