आगामी फागुन २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डको लागि रुकुम पश्चिमबाट ९ जना विद्यार्थी खेलाडी छनोट भएका छन् । गत फागुन ७ गतेदेखि ९ गतेसम्म वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा सहभागी भएका ९ जना विद्यार्थी खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि छनोट भएका हुन् ।
छात्र, छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र उसुमा रुकुम पश्चिमबाट खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार छात्र भलिबल प्रतियोगितामा रुकुम पश्चिमबाट चार जना छनोट भएका छन् । जसमा अङ्कित विक, कमल कठायत, विजय बुढा र पुष्प खनाल रहेका छन् ।
छात्रा भलिबल तर्फ विमला विक र शर्मिला परियार, छात्रा एथलेटिक्सतर्फ सरिता विक, उसु छात्रा तर्फ जानकी शर्मा र सुप्रिया शाह छनोट भएका छन् । त्यस्तै छात्रा भलिबलमा प्रशंसा चन्द, कराते छात्रातर्फ गङ्गा पुन मगर र कबड्डी छात्र तर्फ वसन्त खत्री र छात्रा तर्फ अनुराधा विकको नाम वैकल्पिक सूचिमा रहको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो ।
छनोट भएका विद्यार्थीको अनुपस्थितिमा वैकल्पिकमा छनोट भएका विद्यार्थी सहभागी हुन पाउने छन् । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा कर्णाली प्रदेशबाट ९४ जना विद्यार्थी खेलाडीले सहभागिता जनाउने कर्णाली खेलकुद परिषद् सुर्खेतले जनाएको छ ।