Kakhara सबैको खबर सम्पूर्ण खबर
रतीको घरमा दश वर्षपछिको खुसी
रती र रतीकी छोरी जानकीलाई संकलित नगद सहयोग हस्तान्तरण गरिँदै ।

रती खत्री र जानकीको यस पटकको दसैं विशेष रह्यो । सिस्ने गाउँपालिका ३, कि ४४ वर्षकी रती र १६ वर्षकी उनकी छोरी जानकीले यो दसैं खुसीका साथ मनाएका छन् । २०६७ सालपछिका हरेक दिन कसरी छाक टारौं भन्ने चिन्तामा रहने उनीहरुलाई यस पटक त्यो चिन्ताले पिरोलेन । दिनैपिच्छे हातमुख जोड्नका लागि समस्या पर्ने यी आमा छोरीका दसैं, तिहार तथा अरु चाडबाड कहिल्यै रसिला र मिठा भएनन् । आमा छोरी दुवै अपांग छन् । आमाको २८ वर्षदेखि कम्मर भन्दा तलको भाग चल्दैन भने छोरी जन्मजात बौद्धिक अपांग छिन् । सहयोगका लागि परिवारका अरु सदस्य नहुँदाको पीडा भोक्दै आएका उनीहरुलाई यस पटकको दसैंमा खुसी भने अरुले नै ल्याइदिए । रतीका श्रीमान सर्वजित आफै अपांग थिए । दुवै आँखा नदेख्ने भएपनि झाँक्री पेशा गरेर उनले सजिलै परिवार पालेका थिए । सर्वजितको मृत्यु भएपछि यी आमाछोरी ठूलो समस्यामा छन् ।

हरेक छाक खानाको चिन्ता लिनुपर्ने यी आमा छोरीले यो दसैंमा भने नगद प्राप्त गरे । त्यही नगदको सहायताबाट उनीहरुले दसैं मनाए । स्थानीय युवाहरुको पहलमा झण्डै दुई लाख रुपैयाँ यी आमा छोरीका लागि संकलन भयो । स्थानीय जनक खड्काले आमाछोरीको समस्याको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी गराएपछि रती र जानकीको लागि १ लाख ७७ हजार रुपैयाँ संकलन भएको छ । अमेरिका, यूरोप, भारत र नेपालमै रहेका केही व्यक्तिहरुले स्वःतस्फूर्त उक्त रकम संकलन गरेर उनीहरुलाई पठाएका छन् । सिस्ने गाउँपालिका–७, का प्रेमबहादुर रावत नेतृत्वको टोलीले अमेरिकाबाट १ लाख ४२ हजार ४ सय ६७, भारतबाट १४ हजार ८ सय ८०, नेपालबाट ५ हजार ५ सय र ग्रिसबाट २ हजार रुपैयाँ संकलन भएपछि उक्त नगद जनक खड्काले नै उनीहरुलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त रकमबाट यो दसैंमा आमा छोरीले चामल, दाल त किने भने जाडोका लागि चाहिने सिरक, डसना पनि किन्ने भएका छन् ।

आफूले के खाउँ, छोरीलाई के खुवाउँ भइरहेका बेला आएको सहयोगले आफूलाई ठूलो राहत भएको रतीले बताउनुभयो । सार्वजनिक जमिनमा गाउँलेले बनाइदिएको घरबाट उहाँ लत्रदै शौचालय सम्म पुग्नुहुन्छ । सबै पैसा घरमा राख्दा चोरी हुने भएकाले उक्त पैसा स्थानीय सहकारीमा जम्मा गरिएको छ । नातेदारको सहयोगमा उक्त पैसा निकाल्ने र आवयक्ता अनुसार खर्च गर्ने रतीले जानकारी दिनुभयो । ‘पोहोर परार जस्तो दसैंमा के खाउ, जाडोमा के ओढौं भन्ने भएन,’ रतीले भन्नुभयो, ‘हाम्रो अवस्था देखेर सहयोग गर्नेलाई भगवान जहिल्यै दाहिने होउन् ।’ दुवै आँखा नदेख्ने भएपनि श्रीमान हुँदा सम्म आफूहरुलाई खान बस्न असजिलो नभएको रतीले बताउनुभयो । श्रीमान सर्वजतिको २०६७ सालमा मृत्यु भएको थियो । १६ वर्षको उमेरसम्म स्वस्थ रहेकी रती १६ वर्षको उमेरदेखि अकस्मात कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुग्नु भएको थियो ।

आमा छोरीका लागि संकलित रकमबाट सानो घरको व्यवस्थापन गर्ने योजना गाउँलेले गरेका छन् । घरको घेराबार, खानेपानीको व्यवस्थापन, विजुली बत्तिको पनि भरपर्दो व्यवस्था गर्ने तयारी भइरहेको जनक खड्काले जानकारी दिनुभयो । दाउरा राख्ने गोठ समेत यस पटक बनाउने तयारी भइरहेको छ । कसैले दाउरा नदिए सम्म पनि उनको चुलो बल्दैन । पानी विग्रिएपछि पनि अरुले नै बनाइदिनुपर्छ । अर्का लोकेन्द्र खड्काले लामो समयदेखि समस्यामा रहेकी रती र उहाँकी छोरीका लागि यस पटक ठूलो सहयोग प्राप्त भएको बताउनुभयो । उक्त सहयोगले समस्यामा रहेका उनीहरुका लागि महत्वपूर्ण काम हुने खड्काले बताउनुभयो । विजुलीको र अरु व्यवस्थापनका लागि गाउँलेले पनि सहयोग गर्ने गरेका छन् । यस अघि पनि गाउँलेकै सहयोगमा उनीहरुले जिविका चल्दै आएको थियो । गाउँलेबाट नियमित सहयोग हुने स्थिति नभएपछि भने आमा छोरीले समस्या भोग्दै आएका छन् । रतीकी कान्छि छोरी भने एक सामाजिक संस्थाले पढाउने भन्दै जिल्ला बाहिर लिएको छ । पढाइका लागि गएदेखि उनी घर फर्किएकी छैनन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update