Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण 

गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम अझै जारी छ । भूकम्प गएको चार महिना बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितहरूको अस्थायी आवास निर्माणमा अझै केही समय लाग्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ को अस्थायी आवास निर्माण हुन बाँकी छ । हालसम्म सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा आठ हजार नौ  सय ३३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण भएका छन् । 

त्यस्तै चौरजहारी नगरपालिकामा ६ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ र बाँफिकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण सम्पन्न भइसकेका सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो । 

हालसम्म जिल्ला विपत् न्यूनीकरण तथा व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीको लागि स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख ५० रकम पठाइएको छ । स्थानीय विपत् कोषबाट भने ३० हजार दुई सय ३१ लाभग्राहीले २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update