रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको छ । चौरजहारी २ स्थित नयाँ बजार क्षेत्रमा म्याद गुज्रेका १० हजार ८२५ बराबरको म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको हो । चौरजहारी नगरपालिका र इलाका प्रशासन कार्यालयको चौरजहारीको टोलीले संयुक्त अनुगमन गरेको थियो ।
बिहीबार नयाँ बजार क्षेत्रका विभिन्न १६ वटा पसलहरूको अनुगमन गरिएको छ । दैनिक उपभोग्य सामानको म्याद, नापतौल, व्यवसाय दर्ता नवीकरण गरे नगरे, बिल जारी आदि विषयमा अनुगमन गरिएको थियो । अनुगमन गरिएका १६ पसलमध्ये ७ वटा पसलमा म्याद गुज्रेका सामग्री फेला परेका थिए । म्याद गुज्रेका सामग्री बरामद गर्नुका साथै मुचुल्का गरेर नष्ट गरिएको छ । चिया पत्ती, सुजी, भुजा, बेसार, मिट मसला, सस, पानीपुरी मसला, सोयाबडी, मम मसला, स्प्राइड, कोकाकोला, फ्यान्टा लगायतका सामग्रीहरू म्याद गुज्रेको अवस्थामा भेटिएका थिए ।
अनुमति नलिई डिजेल र पेट्रोल बिक्री वितरण गर्ने पसलहरूलाई समेत बन्द गर्न समय तोकिएको छ । निर्धारित समयभित्र बन्द नगरे जफत हुने चेतावनी समेत दिइएको छ । चौरजहारी नगरपालिका आर्थिक विकास शाखा प्रमुख एवम् बजार अनुगमन समितिका संयोजक गणेश बुढा, इलाका प्रशासन कार्यालय चौरजहारी प्रमुख तोषराज के.सी., चौरजहारी नगरपालिका बजार अनुगमन समितिका सदस्यहरू गणेश खड्का, विमला रोकाय, इलाका प्रहरी कार्यालय प्रहरी हबलदार टोपबहादुर सुनार, नगर प्रहरी सहायक निरीक्षक दीपेन्द्र बटाला लगायतको टोलीले बजार अनुगमन गरेको थियो ।
उपभोक्ता हितको संरक्षण गर्न बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइने चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो । "गुणस्तरीय सेवा र वस्तुको आपूर्ति सुनिश्चित गर्न बजार अनुगमन जरुरी छ," उहाँले भन्नुभयो "गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याइनेछ" ।
उपभोक्ता हित संरक्षण ऐन, २०७५ विपरीत कार्य भएको पाइएमा पाँच हजार देखि पाँच लाखसम्म जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । उपभोक्ता हितलाई ध्यानमा राखी वस्तु तथा सेवाको उत्पादन, भण्डारण तथा विक्री वितरण गर्न नगरपालिकाले उत्पादक तथा विक्रेतालाई आग्रह समेत गरेको छ ।