राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले विभिन्न विधामा योगदान पुर्याएका ९ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । १६ औँ वार्षिकोत्सव तथा पाँचौँ जिल्ला अधिवेशनका अवसरमा परिषद्ले छनोट समितिबाट छनोट भएका विभिन्न विधामा योगदान पुर्याउने ९ जनालाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
आज जिल्ला समन्वय समितिको सभा हल मुसिकोट खलङ्गामा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिएको परिषद्ले जनाएको छ । यस वर्षको रुकुम साहित्यमाला पुरस्कार नेपालगन्ज उपमहानगरपालिका ४ बाँकेका गणेशा कार्की (विष्ट)ले प्राप्त गर्नुभएको छ ।
सुमना–सुमन पुरस्कार मुसिकोट नगरपालिका ५ की हरिकला बुढा र चौरजहारी नगरपालिका १३ का वडाध्यक्ष श्रीकृष्ण शर्मा, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार मुसिकोट नगरपालिका १ का गुनामे श्रेष्ठ (नेवार) वंशावलीका लेखक सत्यनारायण श्रेष्ठ तथा लोक गायक मुसिकोट १ का प्रसाद खड्का र जलसा खड्काको दम्पती लाई प्रदान गरिएको राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बलबहादुर श्रेष्ठ स्मृति पुरस्कार मुसिकोट नगरपालिका ९ रुकुम पश्चिमकी सीता बुढा मगर, योगमाया लोक साहित्य पुरस्कार मुसिकोट नगरपालिका १ का लोक गायक अरुणकुमार साह र लोक साहित्य सम्मान पुरस्कार बाँफिकोटका गाउँपालिका ३ का कुलबहादुर बोहरालाई प्रदान गरिएको छ ।
विभिन्न व्यक्तिले राप्ती साहित्य परिषद्मा स्थापना गरेका अक्षयकोषबाट पुरस्कृत गरिएको उहाँको भनाई छ । परिषद्ले हरेक वर्ष समाजमा योगदान पुर्याउने स्रष्टा, लेखक, कलकार तथा पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि विभिन्न व्यक्तिहरूलाई पुरस्कृत गरिएको ओलीले बताउनुभयो ।
परिषद्मा मुसिकोट नगर प्रमुख अक्षयकोष एक लाख ५० हजार रुपैयाँको स्थापना गरिएको छ । त्यस्तै योगमाया लोक साहित्य अक्षयकोष एक लाख १४ हजार, रुकुम साहित्यमाला अक्षयकोष एक लाख ७सात हजार पाँच सय ५५ हजार, बलबहादुर श्रेष्ठ अक्षयकोष एक लाख र सुमना–सुमन अक्षयकोष १५ हजार रुपैयाँको रहेको छ ।
त्यस्तै परिषद्ले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरेको छ । परिषद्को नियमित शृङ्खला एकल रचना वाचन कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरू र रुकुम साहित्यमाला कार्यक्रम व्यवस्थापन गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
साथै परिषद्का पूर्व अध्यक्षहरू नदीराम केसी र गिरीप्रसाद बुढा र रचनाहरूको समीक्षा, समालोचना र चर्चा गरेर सहयोग गरेको भन्दै परिषद्का सल्लाहकार मुकुन्दप्रसाद शर्मालाई पनि सम्मान गरिएको छ । अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको प्रमुख र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शशीराम कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
परिषद्का सल्लाहकार मुकुन्दप्रसाद शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन परिषद्का जिल्ला सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो । अअधिवेशन जारी छ । नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन आजै सकिने बताइएको छ ।