
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा फागुन १८ गते देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा निःशुल्क एम्बुलेन्स सेवा रहने भएको छ । संयुक्त एम्बुलेन्स चालक संघले महोत्सव अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो ।
महोत्सवमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संयुक्त एम्बुलेन्स चालक संघले महोत्सव अवधिभर एम्बुलेन्स तयारी अवस्था राख्ने महोत्सवको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।
यो सेवाले महोत्सवमा कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थासम्म पुर्याउन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । महोत्सवमा कसैलाई केही भइहाल्यो र स्वास्थ्य संस्थामा लिनुपर्ने अवस्था आयो भने तत्कालै लैजानका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा दिन लागेको संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष कृष्ण ददेलले जानकारी दिनुभयो ।
संघले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आइरहेको र सोही अन्तर्गत रुकुम पश्चिम महोत्सवमा निःशुल्क एम्बुलेन्स सेवा दिन लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर एउटा एम्बुलेन्स महोत्सव स्थलमा तयारी अवस्था रहने छ ।
रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा मुसिकोट खलंगाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ हुँदै छ ।