तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औँ दिनपछि जिल्लामा ठुलो घटना भयो । साबिक पिपल गाविस अर्थात् हालको बाँफिकोट गाउँपालिका–२, को मेलगैरीमा ६ जना खत्रीबन्धुको सामूहिक हत्या भयो । जनयुद्ध घोषणापछिको नेपालको पहिलो सामूहिक हत्याकाण्ड मेलगैरीमा भएको थियो । तत्कालीन सरकारले मेलगैरीमा ६ जना निर्दोषको सामूहिक हत्या गरेको थियो । जनयुद्ध घोषणपछि गोरखाका दिलबहादुर रम्तेल पहिलो पटक मारिए भने त्यसको भोलीपल्ट मेलगैरी हत्याकाण्ड भयो । २०५२ फागुन १ गते सुरु भएको जनयुद्धको १३ औँ दिनमा गोरखाका दिलबहादुर रम्तेल मारिए, १४ औँ दिन अर्थात् २०५२ फागुन १५ गते मेलगैरीमा ६ जना खत्रीबन्धुको एकै चिहान बनाइयो । माओवादीको नाममा प्रहरीले एउटै गाउँका ६ जनालाई हत्या गरेको थियो । घटनामा १५ बर्से बालकदेखि सामान्य किसान मारिएका थिए । मेलगैरी स्थित एउटै घरमा जम्मा भएर बसेका सोही ठाउँका २५ वर्षीय कलबहादुर खत्री, २४ वर्षीय पशुपति खत्री, २५ वर्षीय लालबहादुर खत्री, २५ वर्षीय मनबहादुर खत्री, २५ वर्षीय दलबहादुर खत्री र १५ वर्षीय खडक केसी मारिएका थिए ।
मेलगैरीको एउटा घरमा बसिरहेका ६ जना सर्वसाधारणलाई बाँफिकोट गाविसबाट गएको प्रहरी टोलीले ६ जनाको एउटै चिहान बनाएको थियो । स्थानीय सेतु जैसीको घर घेरा हालेका प्रहरीले सबैलाई पालैपालो हत्या गरेको थियो । सोही वर्षको फागुन १३ गते नेपाली काँग्रेस समर्थक नरजीत बस्नेतको हात काटिएको विषयलाई लिएर इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी मेलगैरी पुगेको थियो । नेपाली काँग्रेसका कार्यकर्ताले माओवादी कार्यकर्ताले नै बस्नेतको हात काटिदिएको उजुरी प्रहरी तथा प्रशासनमा गरेका थिए । इलाका प्रहरी कार्यालय बाँफिकोटबाट कनैया सिंह सरदार नेतृत्वमा आएको प्रहरीले उनीहरूको एकै चिहान बनायो । आफन्त तथा छरछिमेककै अघि उनीहरूको हत्या भएको थियो । कतिलाई गोली हानिएको थियो भने कतिलाई गोली, राइफल हानिएको थियो । भैँसी बाँध्ने किलामा पटुकाले बा“धेर कुटी कुटी हत्या भएको थियो । किलोमा बा“धेर कुटिरहेका बेला पानी माग्दा पिसाब गरिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त हत्याकाण्डमा मारिएका ६ जनाको न पोस्टमार्टम भयो । न अन्तिम संस्कार भयो न क्रियाकाज नै गर्न दिइयो । विना कारण गोली हानी तथा खुकुरीले ताछेर मारिएका आफ्ना आफन्तको पीडाले छटपटिइरहेका परिवारलाई दाहसंस्कार र क्रियाकाज गर्न नदिएर अर्को पीडा दिइएको थियो । त्यही पीडाले विक्षिप्त दलिबर अहिले पनि असामान्य व्यवहार देखाउँछन् । २०५२ फागुन १३ गते नेपाली काँग्रेस समर्थक समेत रहेका स्थानीय शिक्षक नरजीत बस्नेतको हात काटियो । तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले नै शिक्षक बस्नेतको हात काटिदिएका थिए । त्यसको उजुरी र कारबाहीका लागि बोलाइएको प्रहरीले १५ वर्षीय एक विद्यार्थी सहित ५ किसानको हत्या गरेको थियो । बाँफिकोटको प्रहरी चौकीबाट आएको कनैयासिंह सरदार नेतृत्वको प्रहरी टोलीले पिपल गाउँ भन्दा माथि मेलैगरीको एउटै घरमा बसेका ६ जनाको हत्या गरेको थियो । फागुन १४ गते पिपल पुगेको प्रहरी टोलीले १५ गते बिहानै मेलगैरी पुगेर ६ जनाको हत्या गरेको थियो । झिसमिसेमै हत्या गरिएका ६ जनाको शव बिहान ८ बजे मुख्य गाउँ“मा झारिएको थियो । दिनभर स्थानीय विद्यालयको प्राङ्गणमा राखिएका शव बेलुका सदरमुकाम खलङ्गातर्फ लिएर एउटा खोल्सामा बेवारिसे फालिएको थियो । अन्तिम संस्कार गर्न भन्दै पछि पछि लागेका मृतकका परिवारलाई प्रहरीले नै बल प्रयोग गरेर घर फिर्ता गरिदिएको थियो ।
घटनापछि देशमा ठुलो हलचल मच्चिएको थियो । घटना लगत्तै राष्ट्रिय मानव अधिकार आयोगले घटनाको छानबिन गरेको थियो । केन्द्रबाट आएको छानबिन टोलीले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर प्रतिवेदन उपर सरकारले कुनै कारबाही गरेन । तत्कालीन जिल्ला प्रहरी प्रमुखको उपस्थितमा तत्कालीन नेपाल सरकारका उद्योग सहायक मन्त्री गोपाल जिजंग शाहले प्रहरीलाई आदेश दिएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा देशभर भएका घटनाको विस्तृत विवरण छ । मेलगैरी हत्याकाण्डको पनि विस्तृत विवरण छ । ६ जनालाई हत्या गरेपछि अरू केही स्थानीयलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो । ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा बालबालिकासम्मलाई प्रहरीले हिरासतमा राखेको थियो । फागुन १३ गतेकै घटनालाई लिएर प्रहरीले अरू ६ जना स्थानीयलाई झुट्टा मुद्दा लाएर १८ महिनासम्म जेल राखेको थियो । पछि सबै जना अदालतबाट सफाइ पाएर निस्किएका थिए ।