Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सरसफाइ प्रवर्द्धनमा जोड
आठबिसकाेट नगरपालिका १४ काे छेपारेमा छाेरीकाे हात धुँदै रूद्राकुमारी विक ।

रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सरसफाइ प्रवर्द्धनमा जोड दिइएको छ । युनिसेफ र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा जिल्लाका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन वास प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रका समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्धनका लागि शौचालय निर्माण, खानेपानी योजना मर्मत, खानेपानी शुद्धीकरण, चाङ, जुठ्यान निर्माण, हात धुने स्थानको निर्माण, कुहिने र नकुहिने फोहरको व्यवस्थापन, घरबाट निस्किएको फोहर पानीको व्यवस्थापनका काम भइरहेका छन् ।

त्यस्तै महिनावारी स्वच्छता, विद्यालय स्तरमा सरसफाइ अभियान लगायतका कार्यक्रमहरू पनि सञ्चालनमा रहेको उहाँले बताउनुभयो । यो कार्यक्रम जिल्लाका आठबिसकोट नगरपालिका वडा नम्बर ११ देखि १४ र सानीभेरी गाउँपालिकाका १, २ र ४ नम्बर वडामा सञ्चालनमा छ ।

IMG-20240227-WA00031709033721.jpg
कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरकाे भेरी दाेभान माविमा निर्माण भएका शाैचालय ।

यो कार्यक्रमबाट करिब १२ सय भूकम्प प्रभावित घर परिवार लाभान्वित भइरहेको रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक जगदीश खड्काले बताउनुभयो । प्रभावित क्षेत्रका २५ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरू पनि यो कार्यक्रमबाट लाभान्वित भएको उहाँको भनाई छ ।

हालसम्म समुदाय स्तरमा दुई सय २५ वटा शौचालय र ११ वटा खानेपानी योजना मर्मत, ९६ वटा खानेपानी योजनाका सिस्टम शुद्धीकरण लगायतका काम सम्पन्न भएको खड्काले बताउनुभयो । यसका साथै विद्यालय र स्वास्थ्य संस्थाहरूमा पनि सरसफाइका कार्यक्रमहरू तीव्र रूपमा अघि बढिरहेको उहाँको भनाई छ ।

स्वच्छता प्रवर्द्धनका लागि प्रत्येक वडामा सरसफाइ प्रवर्द्धकहरू परिचालन गरिएको छ । सन् २०२३ को नोभेम्बर १० देखि सुरु भएको यो कार्यक्रम २०२४ को जुलाईसम्म सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update