Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा विद्युत् लाइनमा नाङ्गो तार विस्थापित गरिँदै 
बागबजार क्षेत्रमा नाङ्गो तार हटाइदै ।

रुकुम पश्चिममा प्रणाली सुधार कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम मुसिकोट खलङ्गा बजार क्षेत्रमा विद्युत् सेवालाई थप प्रभावकारी बनाउन र सुरक्षालाई मध्यनजर गर्दै विद्युत् लाइनमा भएको नाङ्गो(सेताे) तार हटाएर कालो तार राख्न थालिएको छ । मुसिकोट नगरपालिका १ को सल्लेदेखि मुसिकोट नगरपालिका ५ सेरिगाउँसम्म मुख्य प्रसारण लाइनमा नाङ्गो(सेताे) तार हटाएर कालो तार राख्न लागिएको हो । 

पहिलो चरणमा प्रणाली सुधार कार्यक्रम अन्तर्गत मुख्य प्रसारण लाइन सल्लेदेखि सेरिगाउँसम्म ४ किलोमिटर र शाखा लाइन खलङ्गाको बजार क्षेत्र तल्लो बजार, माथिल्लो बजार देखि सेरिगाउँसम्म ६ किलोमिटर दुरीमा सेतो तार विस्थापित गरेर कालो तार राख्न लागिएको विद्युत् प्राधिकरण वितरण केन्द्र सेरिगाउँका विद्युत् इलेकट्रिकल मर्मत इन्चार्ज प्रेमप्रकाश चपाइले जानकारी दिनुभयो । उहाँका अनुसार खलङ्गामा प्रणाली सुधार कार्यक्रमको काम यही फागुन ११ गते देखि सुरु भइसकेको छ । 

429560719_370770219219142_5884173487695741608_n1709125013.jpg
बागबजार क्षेत्रमा नाङ्गो तार हटाइदै ।

खलङ्गामा सुधार प्रणालीको काम सम्पन्न गर्न अझै करिब ३ साता समय लाग्ने इन्चार्ज चपाइले जानकारी दिनुभयो । मुख्य प्रशारन लाइनमा (एक्सएलपीइ) कन्डक्टर तार राखिएको छ । भने शाखा लाइनमा (एबिसि) केबुल तार राख्ने काम जारी छ । प्रणाली सुधार कार्यक्रमको लागि सल्लेदेखि सेरिगाउँसम्म ४ किलोमिटर र जाजरकोटको कुदु सब स्टेसन देखि चौरजहारी नगरपालिकाको खैचेनी डाँडासम्मको करिब साढे ६ किलोमिटर गरेर साढे १० किलोमिटर दुरीमा मुख्य प्रसारण सहित शाखा प्रसारण लाइनमा कालो तार राख्न १ करोड ३२ लाख बजेट लागत अनुमान गरिएको छ । 

प्रसारण लाइनमा सेतो तार हटाउने तथा कालो तार राख्नको लागि नागरिक हाइड्रो इनर्जी प्रालिले १९ लाख ३६ हजारमा ठेक्का लिएको विद्युत् प्राधिकरण वितरण केन्द्रका विद्युत् मर्मत इन्चार्ज चपाइले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update