रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले प्रभु बैङ्कको राडी शाखामा भएको हिनामिनाको शीघ्र छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ । आज नगर प्रमुख रवि केसीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईलाई निवेदन बुझाउनुभएको हो । विभिन्न व्यक्तिहरूले आफ्नो खातामा अझै पनि रकम जम्मा नभएको र खाता रोक्का रहेको भन्दै नगरपालिकामा निवेदन दिएपछि नगरपालिकाले सो को जानकारी सहित शीघ्र छानबिनको माग सहित जिल्ला प्रशासन र प्रहरीमा निवेदन दिएको हो ।
बैङ्कको सिसी टिभी फुटेज हेरी खातामा जम्मा गर्नुपर्ने रकम जम्मा गर्न र अनावश्यक रोक्का गरिएका खाता तत्कालै सञ्चालन गर्न र घटनाको निष्पक्ष छानबिनको माग गरिएको नगर प्रमुख केसीले बताउनुभयो । स्थानीय स्तरमा पटक पटक भएका छलफल र सहमति अनुसार नभएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा छानबिनको माग गर्दै निवेदन बुझाइएको उहाँको भनाई छ ।
बैङ्कमा जम्मा गर्न भनी बचतकर्ताले रकम बुझाई आए पनि सो रकम अहिलेसम्म खातामा जम्मा नभएको र आफ्नो खाता रोक्का रहेको भन्दै बचतकर्ताले नगरपालिकामा निवेदन दिएपछि स्थानीय स्तरमा छलफल भएको तर त्यसबाट निकास ननिस्किएपछि प्रहरी प्रशासनमा पुगेको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिको ३० लाख बढी रकम जम्मा नगरेर हिनामिना भएको छ ।
स्थानीय व्यवसायी पारस सुनारले आफ्नो जम्मा गरिदिनु भनेर छाडेको ३० लाख ८० हजार रकम हालसम्म पनि जम्मा हुन नसकेको बताउनुभयो । घर किन्नका लागि भनेर बैङ्क खातामा जम्मा गर्न छाडेको रकम खातामा जम्मा नभएको उहाँले जानकारी दिनुभयो । बैङ्कमा धेरै भिड भएका कारण विश्वासका आधारमा माघ ७ गते जम्मा गरिदिनु भनेर छाडेको भए पनि हालसम्म जम्मा नभएको उहाँले बताउनुभयो । उहाँ सहित ८ जनाले आफूहरूको रकम जम्मा नभएको भन्दै नगरपालिकामा निवेदन दिएका छन् ।
नगर प्रमुख केसीका अनुसार यस्तो हालसम्म रकम ५८ लाख ८ हजार रहेको छ । त्यस्तै १३ बचतकर्ताले आफ्नो खाता रोक्का रहेकोले सञ्चालनको माग गर्दै निवेदन दिएका थिए । आफ्ना माग पुरा नभए सङ्घर्षका कार्यक्रम अघि बढाउने बचतकर्ताले चेतावनी दिएका छन् । बैङ्कमा कार्यरत अप्रेसन इन्चार्ज नीरजविक्रम शाह बचतकर्ताको ठुलो रकम हिनामिना गरी फरार छन् । उनी विरुद्ध बैङ्कले एक करोड ३३ लाख हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ ।
नगर प्रमुख रबि केसीले बुझाएकाे निवेदन ।