Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोट ३ पाँच वर्षदेखि मदिरा निषेधित, ६ व्यक्ती कारबाहीमा 
खदी गाउँ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ३ ले विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ निषेध गरेको छ । वडाले २०७५ साल मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । वडामा शान्ति सुरक्षा कायम गर्न तथा मदिरा सेवनबाट हुने मानवीय क्षतिलाई रोक्न वडाले मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको वडा अध्यक्ष केशरमान किकले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन हुन छाडेको छ । वडाले मदिरा निषेध गरेपछि वडामा मदिरा सेवन गर्ने पाँच र विक्री वितरण गर्ने एक जना गरेर ६ व्यक्तिलाई कारबाही समेत गरेको वडा अध्यक्ष विकले जानकारी दिनुभयो । मदिरा सेवन गर्ने पाँच जनालाई पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको हो । भने मदिरा विक्री वितरण गर्ने एक जनालाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

जरिवाना बापत तिराइएको रकम वडा कार्यालयको राजस्वमा जम्मा हुने गरेको छ । वडा भन्दा बाहिर गएर मदिरा सेवन गर्ने व्यक्तिलाई पनि सूचना प्राप्त भएसम्म मदिरा सेवन नगर्न वडाले सचेत गराउँदै आएको छ । वडालाई विकास निर्माण लगायत सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले नमुना बनाउन वडा कार्यालय लागिरहेको वडाले जनाएको छ । यस क्रममा वडाले बाल विवाह न्यूनीकरण गर्न विवाह निमन्त्रणा कार्डमा बेहुला वेहुलीको जन्म मिति अनिवार्य उल्लेख गर्ने पनि नियम बनाएको छ ।

एक वर्षको अवधिमा वडामा १० वटा बाल विवाह भएको वडा कार्यालयमा तथ्याङ्क रहेको छ । बाल विवाहले सामाजिक तथा आर्थिक रूपमा समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बाल विवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update