रुकुम पश्चिम महोत्सवमा आज चर्चित गायक तथा मोडल रामजी खाँडले प्रस्तुति राख्नुभएको छ । महोत्सवको दोस्रो दिन आज देखि कलाकारहरूले प्रस्तुति राख्न सुरु भएको हो । आज चर्चित लोक तथा दोहोरी गायक खाँडले दर्शकलाई नचाउनुभयो । बिहानै देखि पानी परे पनि उल्लेख्य सङ्ख्यामा दर्शकहरू पुगेका थिए । झरीकै बिचमा गायक खाँडले प्रस्तुति राख्नु भएको थियो ।
उहाँले आफ्ना विभिन्न गीत गाउनुभएको थियो । झरीमै पनि दर्शकहरूले नाचेर रमाइलो गरेका थिए । खराब मौसमका कारण आज शनिवार सोचे अनुसार दर्शकहरू नआए पनि राम्रै सङ्ख्यामा दर्शकहरू आएको महोत्सवको सह आयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबै गरेर करिब ३ हजार दर्शक आएका थिए ।
आज रामजी खाँडका साथै गायकहरू रमेश डाँगी, शान्तराम सेन्चुरी, डान्सरहरू सिन्धु चन्द र कल्पना विष्टले पनि प्रस्तुति राख्नुभएको थियो । साथै स्थानीय कलाकारहरूले पनि प्रस्तुति राखेका थिए । महोत्सवमा भोली को आउने भनेर निश्चित हुन बाँकी रहेको अध्यक्ष परियारको भनाई छ ।
महोत्सवको शुक्रवार कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा जारी महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।