Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु बैङ्क आठबिसकोटका बचतकर्ताको एक करोड फिर्ता गर्न राजी 
नगरपालिकाकाे राेहबरमा भएकाे छलफल ।

प्रभु बैङ्क रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका विभिन्न बचत कर्ताको एक करोड फिर्ता गर्न तयार भएको छ । आज नगरपालिकाको रोहबरमा नगरपालिका, बैङ्क र पीडित पक्षका बिचमा भएको छलफलबाट बैङ्क १५ जना बचतकर्ताको रकम फिर्ता गर्न तयार भएको हो । बैङ्कको राडी शाखामा भएको हिनामिनाका कारण बचतकर्ताको ठुलो रकम गुमेको थियो ।

उक्त विषयमा आज नगरपालिकाको रोहबरमा बैङ्क र पीडित पक्षका बिचमा छलफल भएकामा बैङ्क बाँकी रहेका १५ जना बचतकर्ताको एक करोड दुई लाख ४४ हजार नौ सय रुपैयाँ फिर्ता गर्न राजी भएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । बैङ्कले १४ जना बचतकर्तालाई यस अघि नै ६० लाख बढी रकम फिर्ता गरिसकेको थियो ।

आधिकारिक पुस्ट्याइँ हुन नसकेका १५ जना बचतकर्तालाई उनीहरूको रकम फिर्ता गर्न बैङ्कले आनाकानी गरिरहेको थियो । तर आजको छलफलबाट भने उक्त बचतकर्ताको हकमा फागुन २४ गतेसम्म आन्तरिक छानबिन र आवश्यक प्रक्रिया पुरा गर्ने र आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने सहमति जुटेको हो । उक्त रकम नगरपालिकाको रोहबरमै फिर्ता गर्ने निर्णय भएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

430818151_3568683883390813_5237849351571361258_n1709470300.jpg

उहाँका अनुसार एकै व्यक्तिले ३० लाख ८० हजार सम्म रकम फिर्ता पाउनुपर्ने छ । साथै रोक्का गरिएका खाता समेत आजैबाट फुकुवा गर्ने निर्णय भएको बताइएको छ । जम्मा गरिदिनु भनी दिएको रकम विभिन्न बहानामा खातामा जम्मा नगरी हिनामिना भएको बचतकर्ताहरूको गुनासो छ । छलफलमा नगरपालिकाबाट नगर प्रमुख रबी केसी, उपप्रमुख धनकुमारी शाही, तथा प्रभु बैङ्कका तर्फबाट रेणुप्रसाद पाण्डे नेतृत्वको टोली सहभागी थियो ।

त्यस्तै पीडितहरू पनि सहभागी थिए । बैङ्कको राडी शाखामा अप्रेसन इन्चार्जका रूपमा कार्यरत नीरजविक्रम शाह बचतकर्ताको रकम हिनामिना गरी फरार रहेको बताइएको छ । उनी गत माघ २० गते देखि फरार रहेको बैङ्कले जनाएको छ । उनले नै सबै हिनामिना गरेको भन्दै बैङ्कले उनी विरुद्ध एक करोड ३३ लाख २५ हजार हिनामिनाको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जाहेरी दिएको छ ।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update