रुकुम पश्चिमको सदरमुकाममा जारी रुकुम पश्चिम महोत्सव गायिका एलिना चौहानले धमाका मच्चाएकी छिन् । महोत्सवको चौथो दिन सोमबार एलिनाले धमाका मच्चाएकी हुन् । उनको प्रस्तुति हेर्न सोमबार ठुलो सङ्ख्यामा दर्शकहरू पुगेका थिए । गायिका चौहानले पछिल्लो समय आफ्नो चर्चित गीत कट्टा हान्दिन्छु, धोकेबाज हौ तिमी लगायतका आधा दर्जन बढी गीत गाएकी थिइन । उहाँका गीतमा दर्शकहरू दिल खोलेर नाचेका थिए ।
युवा पुस्तामा चर्चित गायिका चौहानले दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएकाे थियाे । सोमबार महोत्सवमा चार हजार बढी दर्शक आएको सह आयोजक कला, संस्कृति पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । महोत्सव सुरु भएदेखि अहिलेसम्म सबैभन्दा बढी दर्शक सोमबार आएको उहाँको भनाई छ । शनिवार र आइतबार झरीले मौसमलाई प्रभावित बनाए पनि सोमबार देखि भने मौसममा सुधार भएपछि दर्शकहरू भरिन थालेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा मङ्गलवार चर्चित गायिका तथा मोडल ज्योति मगर आउनु हुने छ । मङ्गलवार पनि हजारौँ दर्शकको साथ पाउने आयोजकले विश्वास लिएको छ ।
महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।