रुकुम पश्चिम महोत्सव आज पाँचौँ दिन पनि जारी रहने छ । गत शुक्रवार देखि सुरु भएको महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिरहेका छन् भने विभिन्न वस्तुका किनमेल समेत चलिरहेको छ । महोत्सवको पाँचौँ दिन आज चर्चित गायिका तथा मोडल ज्योति मगर आउने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।
ज्योति सबै उमेर समूहका दर्शकमाझ चर्चित छिन् । सोमबार एलिना चौहानलाई ल्याएर दर्शक उतारेको आयोजक आज पनि हजारौँ दर्शकको साथ रहने विश्वासमा छ । ज्योतिसँगै महोत्सवमा अन्य विभिन्न कलाकारहरूले प्रस्तुति राख्ने आयोजकले जनाएको छ । सोमबार एलिना चौहानको प्रस्तुति हेर्न ठुलो सङ्ख्यामा दर्शकहरू उपस्थित थिए । चार हजार बढी दर्शक आएको अध्यक्ष परियारले बताउनुभयो ।
महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।