Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन बहिनी युवा क्लबको वार्षिकोत्सवमा विविध खेलकुद प्रतियोगिता हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ घोरखानीमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म विविध खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । तीन बहिनी युवा क्लबको पहिलो वार्षिकोत्सवको अवसरमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म विविध खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबको पहिलो वार्षिकोत्सवको अवसरमा साबिक शुद्ध वडा स्तरीय महिला, पुरुष भलिबल, खुला महिला, पुरुष रस्साकस्सी, एकल नृत्य, घैँटो फोर र भाले रेस प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष सङ्घर्ष पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ३५ हजार, दोस्रो स्थान प्राप्त गर्ने समूहले २० हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिला भलिबलमा प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले २० हजार, दोस्रो स्थान हासिल गर्ने समूहले १२ हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहले आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । महिला पुरुष भलिबलमा स्थान प्राप्त गर्ने समूहले कप मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने छन् । 

पुरुष भलिबलको दर्ता शुल्क तीन हजार पाँच सय रहेको छ । भने महिला भलिबलको दर्ता शुल्क दुई हजार रहेको क्लबका अध्यक्ष पुनले जानकारी दिनुभयो । त्यस्तै खुला पुरुष रस्साकस्सी, खुला महिला रस्साकस्सी र एकल नृत्य प्रतियोगितामा स्थान प्राप्त गर्नेलाई समान रूपमा  प्रथम पुरस्कार दुई हजार, दोस्रो पुरस्कार एक हजार पाँच सय र तेस्रो पुरस्कार एक हजार सहित प्रमाणपत्र रहेको छ । दर्ता शुल्क पनि सम्मान दुई सय रुपैयाँ रहेको छ । 

घैँटो फोर प्रतियोगितामा विजेता हुनेलाई एक हजार एक सय ११ र भाले रेस प्रतियोगितामा विजेतालाई रातो भाले रहेको क्लबका अध्यक्ष पुनले जानकारी दिनुभयो । उद्घाटन समारोहका दिन स्थानीय झाँकी नाच, मयुर नाच र आमा समूहको नाच प्रदर्शनी गरिने र नाच प्रदर्शन गर्ने समूहलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

430862282_936741484775944_5266285044770805057_n1709624416.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update