रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा भोली देखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजनामा मुसिकोट खलङ्गाको बराहटाकुरामा जारी महोत्सवको अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने लागेको हो । प्रतियोगिता रुकुम उद्योग वाणिज्य सङ्घले आयोजना गरेको हो ।
महोत्सवका अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले जानकारी दिनुभयो । भोलीबाट सुरु हुने ब्याडमिन्टन फागुन २५ गतेसम्म बराहटाकुरा कवर्डहलमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
प्रतियोगिता भोली बिहान ८ बजेदेखि सुरु हुने उहाँको भनाई छ । प्रतियोगिताको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्ने बताइएको छ । प्रतियोगितामा ३० बढी टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगितामा देशभरका ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन पाउनेछन् । तर नेपाल ब्याडमिन्टन सङ्घको वरीयतामा समावेश खेलाडीहरूले भने खेल्न नपाउने महासचिव बुढाले जानकारी दिनुभयो ।
पुरस्कार राशिका हिसाबले यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठुलो प्रतियोगिता रहेको बुढाले बताउनुभयो । प्रतियोगिताको विजेता जोडीले ७० हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण पाउने उहाँको भनाई छ ।
उप विजेता जोडीले नगद ५० हजार पाँच सय ५५, साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना हुने दुई जोडीले समान १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र पाउने महासचिव बुढाले जानकारी गराउनुभयो । दर्ता शुल्क दुई हजार तोकिएको छ ।।