‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ आज पाँचौँ दिन पनि जारी रह्यो । महोत्सवमा आज चर्चित गायिका तथा मोडल ज्योति मगरले प्रस्तुति राख्नुभयो । आज ज्योतिलाई हेर्न दर्शकहरू उर्लिएका थिए । सबै उमेर समूहका दर्शकको रोजाइमा रहेकी ज्योतिलाई हेर्न ठुलो सङ्ख्यामा दर्शकहरू उपस्थित भएका थिए ।
आज पनि सोमबारको झैँ दर्शकहरूको उपस्थिति उल्लेख्य थियो । आज करिब पाँच हजार बढी दर्शक उपस्थित भएको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । दुई घण्टा बढी प्रस्तुति राखेकी ज्योतिले विभिन्न प्रकारका आधा दर्जन बढी गीत गाउनुभएको थियो । उहाँको प्रस्तुतिमा दर्शकहरू खुलेर नाच्दै रमाएका थिए । महोत्सवमा आज ज्योतिसँगै गायक पहलसिंह परियार लगायतका अन्य कलाकारहरूले पनि प्रस्तुति राखेका थिए ।
महोत्सव बुधवार पनि जारी रहने छ । महोत्सवमा बुधवार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा आउने अध्यक्ष परियारले जानकारी दिनुभयो ।
महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।