रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा सर्वाधिक पुरस्कार राशिको खुला पुरुष डबल ब्याडमिन्टन सुरु भएको छ । खलङ्गाको बराहटाकुरा कवर्डहलमा मुसिकोट नगरपालिकाका उप प्रमुख विमलकुमार पुनले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
रुकुम उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रतियोगिताको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख पुनले खेलकुदको विकासका लागि मुसिकोट नगरपालिका गम्भीर रहेको बताउनुभयो ।
खेल क्षेत्रको विकास गरी खेलाडी उत्पादनका लागि नगरपालिकाले काम गरिरहेको उहाँको भनाई छ । खेलको थप विकासका लागि सबै निकायको उत्तिकै भूमिका रहने उहाँले बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य तथा कर्णाली ब्याडमिन्टन सङ्घका अध्यक्ष टक्कबहादुर शाहीले स्थानीय सरकारको लगानी बिना खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।
तीन वटै तहको उत्तिकै भूमिका हुने भए पनि तल्लो तहमा रहेको स्थानीय सरकारले लगानी गर्न सक्ने हो भने कर्णालीले खेलकुदमा ठुलो फड्को मार्न सक्ने उहाँको भनाई थियो । साथै उहाँले ब्याडमिन्टनमा कर्णालीले फड्को मार्ने हो भने बालबालिकामा लगानी गर्न जरुरी रहेको बताउनुभयो ।
विद्यालय स्तरबाट खेलाडी उत्पादन नगर्ने हो भने नहुने उहाँको भनाई थियो । मुसिकोटमा जारी ‘रुकुम पश्चिम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’ का अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
पुरस्कार राशिका हिसाबले यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठुलो रहेको रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव, कर्णाली प्रदेश ब्याडमिन्टन सङ्घका उपाध्यक्ष तथा रुकुम पश्चिम जिल्ला अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको विजेता जोडीले ७० हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण पाउने छ ।
उप विजेता जोडीले नगद ५० हजार पाँच सय ५५, साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना हुने दुई जोडीले समान १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र पाउने बुढाले जानकारी गराउनुभयो । आजबाट सुरु भएको प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुने छ ।