Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम खुला पुरुष डबल ब्याडमिन्टनको उपाधि विनोद र हिमांशुलाई 
विजेता जाेडी ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा आयोजित रुकुम खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि विनोद पौडेल र हिमांशु कँवरले जितेका छन् । आज भएको फाइनलमा रुकुम पश्चिमका सिद्धार्थ केसी र दाङका सनौला अहमदको जोडीलाई पराजित गर्दै बुटवलका विनोद र दाङका हिमांशुको जोडीले उपाधि जित्न सफल भएको हो ।

फाइनल खेल २–० को सोझो सेटमा सकिएको थियो । तर पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्दै ३०–२८ मा सकिएको थियो । विजेता जोडीले नगद ७० हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप विजेता सिद्धार्थ र सनौलाको जोडीले ५० हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाएको आयोजक रुकुम उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने रुकुम पश्चिमका ईश्वर रावल र कवीन्द्र पुन तथा नरेन्द्र बम र जीत लामिछानेको जोडी सान्त्वना भएका छन् । उक्त दुवै जोडीले समान १५ हजार पाँच सय ५५ रुपैयाँ, मेडल र प्रमाण पत्र पाएको रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न ठाउँका २२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

मुसिकोट खलङ्गामा जारी रुकुम पश्चिम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवका अवसरमा रुकुम उद्योग वाणिज्य सङ्घले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । फागुन २३ गतेबाट सुरु भएको ब्याडमिन्टन आज सकिएको छ भने महोत्सव फागुन २८ गतेसम्म जारी रहने छ ।   

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update