रुकुम पश्चिम पश्चिम महोत्सव शुक्रवार पनि जारी रह्यो । महोत्सवमा शुक्रवार चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले प्रस्तुति राख्नुभयो । महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक आज आएको आयोजकले जनाएको छ । बराहटाकुरा टुँडिखेल पुरै भरिएर खचाखच भएको थियो । यो सङ्ख्या महोत्सव सुरु भएदेखि अहिलेसम्मकै उच्च रहेको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।
आज पाँच हजार बढी दर्शक आएको उहाँको भनाई छ । महोत्सवमा ‘धुर्मुस–सुन्तली’ले पौने घण्टाको प्रहसन गरेका थिए । विभिन्न सन्देश समेटिएको हास्य व्यङ्ग्य प्रहसनमा दर्शकले मनोरञ्जन लिएका थिए । कलाकारिता छाडेर समाजसेवा सक्रिय भएका ‘धुर्मुस’ दम्पती पछिल्लो समय पुनः कलाकारितामा फर्किएका छन् । महोत्सवमा आज गायक ओम सुनार, मोडल प्रकाश सुनार, डान्सर ईश्वरी लामिछाने, अञ्जना केसी लगायतका अन्य कलाकारले पनि प्रस्तुति राखेका थिए । आजको उद्घोषकका रूपमा अनिल सोनाम रहनुभएको थियो ।
महोत्सवमा भोली उदयमान गायिका सिम्रन परियार आउने अध्यक्ष परियारले बताउनुभयो । त्यस्तै अन्य कलाकारहरूको पनि भोली शनिवार प्रस्तुति रहने बताइएको छ ।
महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।