रुकुम पश्चिमको सदरमुकाममा जारी महोत्सव आज पनि जारी रहने छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिरहेका छन् । महोत्सवमा आज गायिका सिम्रन परियार आउने सह आयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।
सिम्रन पछिल्लो समय उदाएकी कलाकार हुन् । सानै उमेरमा पनि उनले राम्रो सफलता प्राप्त गरेकी छिन् । आज सिम्रन सहित गायक रमेश डाँगी, डान्सर ईश्वरी लामिछाने लगायतका कलाकारहरूले पनि प्रस्तुति राख्ने बताइएको छ ।
महोत्सवमा शुक्रवार दर्शकहरूको घुइँचो लागेको थियो । चर्चित हास्य कलाकार धुर्मुस–सुन्तलीको प्रस्तुति हेर्न बराहटाकुरा टुँडिखेल दर्शकले खचाखच भरिएको थियो । शुक्रवार पाँच हजार बढी दर्शक आएको आयोजकले जनाएको छ । शनिवार भएकोले आज पनि दर्शकको राम्रो साथ मिल्ने आयोजकले विश्वास लिएको छ ।
महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा गत फागुन १८ गते देखि महोत्सव सुरु जारी छ ।