रुकुम पश्चिम महोत्सवमा आज पनि विभिन्न कलाकारहरूले प्रस्तुति राख्ने भएका छन् । गत फागुन १८ गतेदेखि सुरु भएको महोत्सवमा आज गायिका टीका सानु, गायक कृष क्षेत्री र तिलक परियारले प्रस्तुति राख्ने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।
उनीहरूका साथै अन्य कलाकारहरूले पनि प्रस्तुति राख्ने छन् । त्यस्तै आज नाच प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । स्थानीय प्रतिभालाई प्रस्फुटनका लागि नाच प्रतियोगिताको आयोजना गरिएको आयोजक रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । विजेतालाई पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाई छ ।
यसैबिच महोत्सव दुई दिन थप गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । फागुन १८ गतेदेखि २८ गतेसम्म महोत्सव सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम भए पनि सुरुका दुई दिन पानीले प्रभावित बनाएको भन्दै दुई दिन महोत्सव थप गर्ने तयारी भइरहेको बताइएको छ ।
अनुमतिका लागि नगरपालिकामा लेखिएको र नगरपालिकाले अनुमति दिएमा दुई दिन महोत्सव थप हुने आयोजकको भनाई छ ।