रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, स्थित नेपाली सेनाको ब्यारेक जान आउन नयाँ सडक बन्ने भएको छ । हाल सल्ले विमान स्थल भएर ब्यारेक जाने आउने गरेकामा अब अर्को सडक निर्माण गरिने भएको हो । त्यसका लागि सम्भाव्यता अध्ययन थालिएको छ ।
अहिले चलिरहेको विमान स्थलको सडक मुनि भएर वा विमान ल्याण्ड हुने ठाउँतिरबाट ब्यारेक जाने गरी सडक बनाउने भनेर अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ । सम्भाव्यता अध्ययनपछि आवश्यक लगानी मुसीकोट नगरपालिकाले गर्ने छ ।
विमान स्थल भएर आवतजावत हुँदा समस्या भएको भन्दै गुनासो आएको थियो । त्यसपछि बैकल्पिक सडक निर्माणको पहल अघि बढेको छ । मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतम लगायतको टोलीले भूगोलको अवस्था समेत अध्ययन गरेको छ । सहज र छरितो सडक निर्माण हुने गरी काम गर्ने नगरप्रमुख गौतमले बताउनुभयो ।