Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा सञ्चालित महोत्सव सम्पन्न भएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा फागुन १८ गतेबाट सुरु भएको ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ आज सकिएको हो ।

महोत्सव १२ औँ दिनमा आज सम्पन्न भएको छ । फागुन १८ गते सुरु भएको महोत्सव फागुन २८ गते अर्थात् हिजो सकिने पूर्व निर्धारित तालिका भए पनि एक दिन लम्बिँदै आज सकिएको हो । आज अन्तिम दिन दर्शकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । 

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखेका छन् । त्यस्तै १ सय बढी व्यापारिक स्टलबाट व्यापार भएको थियो । महोत्सवमा अन्य सामग्री सहित स्थानीय अर्ग्यानिक खानेकुराका स्टल समेत राखिएको थियो । सिस्नो, ढिँडो, कोदोको रोटी, सेल, कालिजको मासु लगायतका खानेकुराको व्यवस्था महोत्सवमा थियो । 

त्यस्तै स्थानीय उद्योगमा उत्पादन भएका सामग्रीहरू बिक्रीका लागि राखिनुका साथै उक्त सामाग्रीका बिचमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । महोत्सव उद्घाटन समारोहमा स्थानीय झाँकीहरूको प्रतिस्पर्धा गराइएको थियो । 

स्थानीय कला संस्कृतिलाई प्रवर्द्धनका लागि स्थानीय झाँकी समूहलाई आउजाउको व्यवस्था सहित उत्कृष्टलाई पुरस्कृत समेत गरिएको आयोजक रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । 

महोत्सव सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । उद्देश्य अनुसार महोत्सव सफल भएको उहाँको भनाई छ । महोत्सवमा स्थानीय कला संस्कृति सहित उत्पादनलाई प्राथमिकता दिइएको थियो । 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, हास्य कलाकार धुर्मुस–सुन्तली, चर्चित गायिका ज्योति मगर, गायक रामजी खाँड, पशुपति शर्मा लगायतका कलाकारहरूले प्रस्तुति राखेको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । 

यसैबिच महोत्सवको अन्तिम दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माले प्रस्तुति राख्नुभएको थियो । आज पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । आज दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था सहित कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारको प्रस्तुति पछि महोत्सव समापन भएको उहाँको भनाई रहेको छ । 

महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको थियो ।    

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update