Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण, अझै साढे तीन सय लाभग्राहीले पहिलो किस्ता पाउनै बाँकी 

गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम अझै जारी छ । भूकम्प गएको पाँच महिनाको अवधिमा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

पाँच महिनाको अवधिमा जिल्लाभर २९ हजार सात सय ५४ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर अझै दुई हजार एक सय ९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । जिल्लामा हालसम्म सबैभन्दा बढी अस्थायी आवास आठबिसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा नौ सय ६६ अस्थायी आवास निर्माण भएका छन् । 

त्यस्तै चौरजहारी नगरपालिकामा ६ हजार ६ सय ६८, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा चार हजार तीन सय ३३ र बाँफिकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो । 

हालसम्म जिल्ला विपत् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय लाभग्राहीको लागि स्थानीय विपत् न्यूनीकरण कोषमा २५ हजारका दरले ७८ करोड २५ लाख रकम पठाइएको छ । स्थानीय विपत् कोषबाट भने ३० हजार आठ सय ४१ लाभग्राहीले २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका तीन सय ५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update