उमेरले ८० पुगेका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कुनाखेतका स्थानीय हरिराम खत्री निरन्तर काममा सहभागी हुनभयो । सुरुका दिन देखी हरेक दिन फरक फरक कामको जिम्मेवारी पाउनु भएका उहाँले गारो लगाउने, ढुङ्गा उचाल्ने देखी मसला दिने सम्मको काम गर्नुभयो । यही ठाउँका ८० वर्षीय दलराज पौडेल पनि प्रतीक्षालय निर्माण गर्न निरन्तर खटिनु भयो ।
खत्री जस्तै उहाँले पनि सुरु देखी अन्त्यसम्म एउटा मात्र काम गर्नु भएन । ढुङ्गा उचाल्ने, गारो लगाउने, माटो फाल्ने सम्मको काम गर्नुभयो । खत्री र पौडेल केही पात्र मात्र हुनुहुन्छ । कुनाखेतका ज्येष्ठ नागरिकहरूले प्रतीक्षालय निर्माण गरेका छन् । आश्रम स्थलको लागि प्रतीक्षालय निर्माण गरिएको हो । १५ दिनको समयमा प्रतीक्षालय सँगै एउटा शौचालय पनि निर्माण भएको छ ।
सानीभेरी ज्येष्ठ नागरिक मञ्च गठन गरेर ज्येष्ठ नागरिकहरूले उक्त काम गरेका हुन । ज्येष्ठ नागरिकहरूको सक्रियतामा प्रतीक्षालय र शौचालय निर्माण भएको हो । कुल तीन लाख तीन हजार दुई सय रुपैयाँमा प्रतीक्षालय र शौचालय निर्माण भएको सानीभेरी ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष सेतु जैसीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरूले सहयोगको माग गरेर उक्त रकम जुटाएको उहाँले बताउनुभयो । देश तथा विदेशमा बस्दै आएका भएका युवाहरूबाट रकम सहयोग भएको थियो । शनिवार वडाका ज्येष्ठ नागरिक १०३ वर्षका प्यारु घर्तीले प्रतीक्षालयको उद्घाटन गर्नुभएको हो । अब प्रतीक्षालय सबैको लागि चौतारी हुने विश्वास गरिएको छ ।