Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शर्माद्धारा पदभार ग्रहण 

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका अध्यक्ष शैलेशकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय मुसीकोटमा आज शर्मा र कार्यालय प्रमुख लिलाप्रसाद ढकालले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले जिल्लाको खेलकुद विकासका लागि केही न केही नयाँ गर्ने प्रतिवद्धता जनाउनुभएको छ । खेल क्षेत्रमा देखिएका र देखिन सक्ने विकृतिहरुलाई हटाएर जिल्लाको खेलकुद विकासका लागि अगाडि उहाँको भनाई छ । 

संघीयता अघिको जिल्ला खेलकुद विकास समितिमा बसेर काम गरिसकेको र त्यो अनुभवलाई समेत प्रयोग गरेर केहि नयाँ गर्ने सोँच रहेको उहाँले बताउनुभयो । त्यस्तै जिल्लालाई खेलकुदमा अव्बल बनाई राष्ट्रिय पदकहरु हाँसिल गर्ने लक्ष राखेर समेत काम गर्ने उहाँले प्रस्ट पार्नुभयो । ‘प्रदेश स्तरमा जिल्लाको उपस्थिति र सफलता राम्रो छ, उहाँले भन्नुभयो, अव जिल्लाका लागि राष्ट्रिय मेडलहरु ल्याउनुपर्छ, यसका लागि मैले मेरो व्यक्तिगत र कार्यालयको तर्फबाट सकेको पहल गर्ने छु, यसमा जिल्लामा रहेका खेलकुद संघहरु, खेलाडिहरु लगायत आम खेलप्रेमिहरुले सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु ।’

त्यस्तै खेलाडि छनौटमा काखा र पाखाको व्यवहार नगर्ने र हुन नदिने आश्वास्त समेत उहाँले पार्नुभयो । जिल्ला खेलकुद विकास समितिले २ वर्षपछि नेतृत्व पाएको हो । यसअघि संघ मातहत रहेको खेलकुद विकास समिति प्रदेश मातहतमा आएपछि प्रदेशले नेतृत्व चयनमा ढिलाई गरेका कारण प्रदेशभरका खेलकुद विकास समितिहरु लामो समय नेतृत्व विहिन अवस्थामा थिए । त्यस्तै प्रदेशले तीन जना सदस्यहरु पनि मनोनित गरेको छ । सदस्यमा आठबीसकोट नगरपालिका ३, का सन्देश विक, मुसीकोट नगरपालिका ११, कि धनमाया बोहरा र सानीभेरी गाउँपालिका ३, का गोविन्द ओली मनोनित हुनुभएको हो । 

पदभार ग्रहण कार्यक्रममा जिल्ला स्थित विभिन्न खेलकुद संघका पदाधिकारी तथा खेलप्रेमिहरुको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समितिको कार्यालय यसअघि कै स्थान जिल्ला समन्वय समितिको परिषरमा रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update