Kakhara सबैको खबर सम्पूर्ण खबर
होलीको अवसरमा आयोजित विविध कार्यक्रम सम्पन्न, भलिवलको उपाधी बाँफीकोट ४ लाई 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ स्यार्पूमा फागू पूर्णिमा अर्थात होली पर्वको अवसरमा आयोजित सांस्कृतिक तथा खेदकुद कार्यक्रम सम्पन्न भएका छन् । स्यार्पुमा हरेक वर्ष होलीको अवसमा सांस्कृतिक तथा खेदकुद कार्यक्रम हुँदै आएको छ । मेला हेर्न यस पटक पनि रुकुम पूर्व र रुकुम पश्चिमका विभिन्न ठाउँबाट मानिस स्यार्पूमा पुगेका थिए । स्यार्पू ताल पर्यटकीय हिसावले पनि परिचित छ । ताल हेर्न पनि पर्यटकहरु आउने गरेका छन् । 

होलीको अवसरमा आयोजित मेलामा विभिन्न ठाउँबाट आएका समुहले आफ्नो सांस्कृतिक प्रस्तुती देखाएका थिए । पञ्चेबाजा, मयूर नाच, सिङ्गारु नाच र पैँसेरु नाचका साथै विभिन्न आमा समूह र महिला समूहको नाचमा मेला हेर्न पुगेका व्यक्तिहरुले  मनोरञ्जन लिएका थिए । मेलाको अवसमा सुन्दर समाज युवा क्लवले पुरुष भलिवल र स्वलो मोटरसाइकल रेस प्रतियोगिता पनि आयोजना गरेको थियो ।

क्लवले आयोजना गरेको खुला शुद्ध वडा स्तरिय भलिबल प्रतियोगितामा रुकुम पूर्व र पश्चिमका १४ टिमले प्रतिस्पर्धा गरेका थिए ।आइतबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका वडा नम्बर २ लाई पराजित गरेर बाँफिकोट वडा नम्बर ४ प्रथम भएको थियो। प्रथम भएको बाँफिकोट  वडा नम्बर ४ ले नगद ५० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो भएको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले नगद ३० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष गोर्ख दाहालले  जानकारी दिनुभयो । 

उहाँका अनुसार तेस्रो भएको रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले नगद २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मेलामा  स्वलो मोटरसाइकल रेस प्रतियोगित पनि भएको थियो । २४ जनाको सहभागिता रहेको स्वलो मोटरसाइकल रेस प्रतियोगितमा एक मिनेट ४६ सेकेन्डमा निर्धारण दुरी  १ सय मिटर पार गरेर गोपाल बोहरा प्रथम हुनभएको थियो । 

यस्तै निर्धारित दुरी एक मिनेट ३५ सेकेन्डमा पार गरेर सागर चौधरी दोस्रो र एक मिनेट ३० सेकेन्डमा निर्धारित दुरी पार गरेर लालबहादुर बुढा तेस्रो हुनभएको थियो। प्रथम, दोस्रो, र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद दश हजार, सात हजार, र पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र वितरण गरिएको क्लवकाअध्यक्ष दाहालले जानकारी दिनुयभो ।  

मेलामा झाँकी सहित सहभागि भएका २८ वटा सांस्कृतिक समूहलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update