Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोला पुल निर्माणका लागि दबाब दिन समाजवादी मोर्चाले आज जिल्ला प्रशासनमा धर्ना दिँदै 
पुल निर्माणका लागि दबाब दिन पितिवाङ खाेलामा पुगेकाे समाजवादी माेर्चाकाे टाेली ।

समाजवादी मोर्चा नेपाल, रुकुम पश्चिमले पितिवाङ पुल निर्माणको लागि दबाब स्वरूप आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा धर्ना दिने भएको छ ।

मुसिकोटमा बसेको मोर्चाको बैठकले आज दिउसो २ बजेदेखि ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने निर्णय गरेको हो । यस्तै मोर्चाले भोली शुक्रवार डिभिजन सडक कार्यालय चौरजहारीमा धर्ना दिने कार्यक्रम तय गरेको छ । 

विगत ४ वर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम यथाशीघ्र सुरु गराउन दबाब दिने उद्देश्यले धर्नाका कार्यक्रम तय गरिएको मोर्चाका संयोजक गोविन्द रोका सचिनले आज विज्ञप्ति निकालेर जानकारी गराउनु भएको हो । 

मोर्चाले यसअघि गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । यस्तै चैत्र ११ गते पुल निर्माण स्थलमा दबाब कार्यक्रम गरेको मोर्चाले सङ्घर्षका कार्यक्रमहरू थप कडा पार्दै लगेको छ ।

राप्ति लोक मार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ र १२ स्थित पितिवाङ्ग खोलामा २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्ने गरी संरक्षण निर्माण सेवा प्रालि चितवन र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । 

मूल्य अभिवृद्धि कर बाहेक ४ करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरू, यात्रुवाहक सवारी साधनहरू, उद्योगी व्यवसायीका मालवाहक गाडीहरू, बिरामी बोकेका एम्बुलेन्सहरूले सास्ती पाइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update