देशैभरमा आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । अहिले बिहान ८ बजेबाट देशभरमा एकैसाथ परीक्षा सुरु भएको हो । आजबाट सुरु भएको परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुने छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा ११ बजेसम्म चल्ने छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
यसैबिच रुकुम पश्चिममा २३ र रुकुम पूर्वमा ८ वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ । रुकुम पूर्वबाट एक हजार ३० जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । जसमा नियमित तर्फ ५ सय ३१ छात्रा र ४ सय ९१ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार साधारण तर्फ ४ सय ९६ छात्रा र ४ सय ६९ जना छात्र सहभागी हुँदै छन् । प्राविधिक तर्फ छात्रा ३५ र छात्र २२ जना परीक्षामा सहभागी हुँदा ग्रेडवृद्धि तर्फ दुई छात्रा र ६ छात्रले यो वर्षको एसइई परीक्षामा सहभागी हुँदै छन् । पुथाउत्तरगंगा गाउँपालिकामा एक, सिस्ने गाउँपालिकामा पाँच र भूमे गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र तोकिएको छ ।
त्यस्तै रुकुम पश्चिममा ३ हजार ५ सय ९३ परीक्षार्थी रहेको छन् । जसमा साधारणतर्फ १ हजार ७ सय ६२ छात्रा र १ हजार ७ सय ८ छात्र गरेर ३ हजार ४ सय ७० तथा र प्राविधिक तर्फ ४९ छात्र र ४७ छात्रा गरेर ९६ परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमन्ड पुनले जानकारी दिनुभयो ।
त्यस्तै ग्रेडवृद्धि तर्फ १५ छात्र र १२ छात्रा गरेर २७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । ५ वटा संस्थागत, एक खुला र ७६ वटा सामुदायिक गरेर ८२ वटा विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।