रुकुम पश्चिमको चौरजहारी उपत्यका नयाँ सहरका रूपमा विकास भइरहेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने देशका १० ठाउँलाई सहरीकरण गर्ने उद्देश्यले नयाँ सहर विकासको काम तीव्र रूपमा भइरहेको छ । जसअन्तर्गत चौरजहारी उपत्यका एक हो । यति बेला चौरजहारीमा सहरीकरणले तीव्रता पाएको छ । सडक कालोपत्रे, बसपार्क निर्माण, सभा हल निर्माण लगायतका काम जारी छन् । चौरजहारीमा एयरपोर्ट (हाल सञ्चालनमा नरहेको) छ भने सुविधा सम्पन्न अस्पताल छ ।
सडक, सञ्चार, स्वास्थ्य, शिक्षाले फड्को मारेको छ । नागरिकका दैनिकीमा सहजता आएको छ । चौरजहारीले विकासमा फड्को मार्दै गएको अवस्थामा आधा शताब्दी अघि चौरजहारी कस्तो थियो होला त रु यो सामग्रीमा हामी आधा शताब्दी अघिको चौरजहारी देखाउँदै छौँ । ४८ वर्ष अघि २०३४ सालमा अमेरिकी नागरिक रिक मरिकले चौरजहारीका विभिन्न दृश्यलाई क्यामेरामा कैद गरेका थिए । उक्त तस्बिरले आधा शताब्दी अघि चौरजहारी भौगोलिक रूपमा कस्तो थियो ?, रहनसहन, लवाई खवाई कस्तो थियो ? भन्ने प्रस्ट देखिन्छ ।
अहिले उक्त तस्बिरहरू सामाजिक सञ्जालमा चौतर्फी फैलिएका छन् । चौरजहारी हवाई यातायातका हिसाबले त्यति बेलै सुगम थियो । २०३२ सालमै चौरजहारीमा एयरपोर्ट बनेको थियो । नेपाल एयरलाइन्सले उडान भर्न सक्थ्यो भने बेला बेलामा नेपाली सेनाको विमान समेत आउने गर्थ्यो । त्यसबाट नुन, तेल लगायतका दैनिक उपभोग्य सामानहरू ल्याइन्थ्यो । जसका कारण विमान आयो भने एयरपोर्टमा तीन जिल्लाका नागरिकको भीड नै लाग्थ्यो ।
चौरजहारीमा तत्कालीन राजा वीरेन्द्रको सवारी हुँदा होस वा नेपाल एयरलाइन्सको विमान आउँदा वा नेपाली सेनाको विमान आउँदा होस, सयौँ नागरिकहरू भेला भएको अवस्था क्यामेरामा कैद भएका छन् । चौरजहारी अहिलेजस्तै त्यति बेला पनि जाजरकोट र सल्यानसम्मको केन्द्र थियो । अमेरिकी नागरिक रिक मरिकले २०३४ सालमा कैद गरेका चौरजहारीको दृश्य हेर्नुहोस् ।
तस्बिरहरु: रिक मरिक/अमेरिकी नागरिक