नेकपा एमाले रुकुम पश्चिमको नवौं अधिवेशन यही चैत १६ र १७ गते हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि पार्टीले १६ र १७ गते अधिवेशन गर्न लागेको हो । पार्टी कार्यालय बागबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाले बताउनुभयो ।
उहाँका अनुसार भोली १६ गते उद्घाटन हुने र १७ गते बन्द सत्रबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने छ । अधिवेशन उद्घाटन गर्न पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउने अध्यक्ष देवकोटाले बताउनुभयो । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सहमति हुन नसके चुनावी प्रक्रिया मार्फत नेतृत्व चयन हुने उहाँले बताउनुभयो ।
विधान अनुसार तीन वर्षे कार्यकाल हुने पर्ने भएता पनि पार्टीको ७७ वटै जिल्लामा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने सर्कुलर अनुसार अधिवेशन गर्न लागिएको बताएको छ । अधिवेशनमा जिल्लाभरबाट करिब ३ सय ५० प्रतिनिधि सहभागी हुने र प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको अध्यक्ष देवकोटाले बताउनुभयो ।
पार्टीका जिल्ला सचिव शशिराम नेपालीले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलन कार्यक्रममा कर्णाली प्रदेश सदस्य कर्णबहादुर ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहको थियो । कर्णालीका १० जिल्ला मध्य दैलेख, मुगु र सुर्खेतमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ । रुकुम पश्चिम सहित ७ जिल्लामा नेकपा एमालेले नयाँ नेतृत्व चयन गर्न बाँकी छ ।