Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ पुलको काम तत्काल थाल्न माग गर्दै समाजवादी मोर्चाको जिल्ला प्रशासनमा धर्ना  
जिल्ला प्रशासन कार्यालयमा माेर्चाकाे धर्ना ।

समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले राप्ती राजमार्ग अन्तर्गतको पितिवाङ खोला पुल निर्माणमा दबाब बढाएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ लाई जोड्ने पुल निर्माणको काम तत्काल सुरु गर्न दबाब दिन मोर्चाले आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा धर्ना दिएको छ । 

मोर्चाले तीन घण्टा धर्ना दिएको हो । आज दिउँसो २ बजेदेखि बेलुकी ५ बजेसम्म तीन घण्टा धर्ना दिएर पुल निर्माणका लागि दबाब सिर्जना गरिएको समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

जिल्लामा अलपत्र अवस्थामा रहेका विकास निर्माणका आयोजनामा दबाब सिर्जना गर्ने मोर्चाको निर्णय अनुसार पहिलो चरणमा पितिवाङ खोला पुल निर्माणको काम तत्काल सुरु गर्न दबाब दिइरहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउन र दबाब सिर्जना गर्न धर्ना दिइएको संयोजक रोकाले बताउनुभयो । 

कि काम सुरु गर, कि ठेक्का रद्द गर, राज्य गैर जिम्मेवार र ठेकेदार बेखबर किन, तुरुन्त काम सुरु गर, ठेकेदारलाई कारबाही कि संरक्षण जस्ता नारा लेखिएका प्ले कार्ड सहित धर्ना दिइएको थियो ।  

image000081711626748.jpg

संयोजक रोकाका अनुसार भोली शुक्रवार सडक डिभिजन कार्यालय चौरजहारीमा धर्ना दिने कार्यक्रम रहेको छ । ठेकेदार कम्पनी संरक्षण निर्माण सेवा चितवनको चरम लापरबाहीका कारण सम्झौता भएको लामो समयसम्म पनि पुल निर्माण अलपत्र पर्दा हजारौँ नागरिकले सास्ती पाइरहेकोले तत्काल पुल निर्माण कार्य सुरु नहुँदासम्म सङ्घर्षका कार्यक्रम नरोकिने उहाँले बताउनुभयो । 

मोर्चाले यसअघि गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । यस्तै चैत्र ११ गते पुल निर्माण स्थलमा दबाब कार्यक्रम गरेको मोर्चाले सङ्घर्षका कार्यक्रमहरू थप कडा पार्दै लगेको छ ।

राप्ति लोक मार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ र १२ स्थित पितिवाङ्ग खोलामा २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्ने गरी संरक्षण निर्माण सेवा प्रालि चितवन र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । 

मूल्य अभिवृद्धि कर बाहेक ४ करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरू, यात्रुवाहक सवारी साधनहरू, उद्योगी व्यवसायीका मालवाहक गाडी, बिरामी बोकेका एम्बुलेन्सले सास्ती पाइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update