माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट देशैभरमा सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । रुकुम पश्चिममा पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
इकाईका प्राविधिक सहायक डायमन्ड पुनका अनुसार आज पहिलो दिनको परीक्षा जिल्लाभरमा शान्तिपूर्ण वातावरणमा सकिएको हो । जिल्लाका २३ वटा केन्द्रमा परीक्षा भइरहेको छ । यसैबिच आज पहिलो दिनको परीक्षामा जिल्ला भर ६८ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
नियमित र ग्रेड वृद्धि तर्फ परीक्षा फारम भरेका मध्ये ६८ जना परीक्षामा सहभागी नभएको पुनले जानकारी दिनुभयो । जसमा नियमित तर्फ छात्र ३९ र छात्रा २० गरी ५९ जना रहेका छन् । त्यस्तै ग्रेड वृद्धि तर्फ ४ जना छात्र र ५ छात्रा गरी ९ जना अनुपस्थित रहेको पुनले बताउनुभयो ।
आज पहिलो दिनको परीक्षामा कुल तीन हजार पाँच सय २५ जना परीक्षार्थी उपस्थित भएका छन् । जसमा नियमित तर्फ साधारण र प्राविधिक धार गरी तीन हजार पाँच सय सात जना र ग्रेड वृद्धि तर्फ १८ जना परीक्षार्थी सहभागी भएको उहाँको भनाई छ । जिल्लामा एसइईमा सहभागिताका लागि कुल तीन हजार पाँच सय ९३ जना परीक्षार्थीले फारम भरेका थिए ।