नेकपा एमाले रुकुम पश्चिमको नवाैं अधिवेशन सुरु भएको छ । जिल्ला पार्टी कार्यालय मुसिकोट नगरपालिका ५ बागबजारमा आजबाट अधिवेशन सुरु भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशन उद्घाटन पूर्व पार्टीले आज दिउँसो खलङ्गा बजारमा र्याली समेत निकालेको थियो । र्याली पश्चात् पार्टी कार्यालय बागबजारमा उद्घाटन समारोह सुरु भएको थियो भने अहिले अधिवेशन उद्घाटन समारोह सकिएको नेकपा एमाले रुकुम पश्चिमका कार्यालय सचिव भिमराज ओलीले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले गर्नुभएको हो । आज उद्घाटन समारोह भएकामा भोली बन्द सत्र सुरु हुने ओलीले बताउनुभयो । बन्द सत्रबाट नयाँ नेतृत्व आउने कार्यालय सचिव ओलीले जानकारी दिनुभयो ।
अधिवेशनमा जिलाभरबाट चार सय जना प्रतिनिधिको सहभागिता रहेको छ । जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष नन्दराम देवकोटा र नारायणकुमार शाह आकांक्षी देखिनुभएको छ । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने र सहमति हुन नसके चुनावी प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टको विशेष आतिथ्यता रहेको कार्यक्रममा पोलिटब्युरो सदस्य खेममान खड्का, प्रदेश अध्यक्ष गुलावजङ शाह लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिव शशिराम नेपालीले गर्नुभएको थियो ।