जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लास्थित क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ । नयाँ प्रहरी नायव उपरीक्षक( डिएसपी) नवराज पोखरेल जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएको अवसरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । भेटघाट तथा परिचयात्मक कार्यक्रममा जिल्लामा भएका गतिविधि तथा समसामयिक विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले समाजमा सुशासन कायम गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । समाजमा सुशासन कायम गर्न सबैको साथ सहयोग आवश्यक हुने भएकाले यसमा पत्रकार लगायत आम रुकुमेली जनताकाे साथ सहयोगकाे आफूले अपेक्षा गरेकाे उहाँले बताउनुभयो ।
जिल्लामा शान्ती सुरक्षा र सुशासन कायम गरी आफ्नो एक वर्षको कार्यकाल सम्झन योग्य बनाउन आफू निरन्तर लागि रहने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । साथै उहाँले यसअघिका प्रहरी प्रमुख नमराज भट्टराईले जिल्लामा गरेकाे कामकाे प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिने समेत बताउनुभयाे ।
कार्यक्रममा पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले पत्रकारहरूको तर्फबाट हुने सहयोगमा कमी नहुने बताउनुभयो । साथै उहाँले पछिल्लो समय जिल्ला प्रहरी कार्यालयबाट प्राप्त हुने सूचनामा समेत सहज हुँदै गएको बताउनुभएकाे थियाे ।