रुकुम पश्चिमको आठबीसकोटमा नगरपालिकाको विभिन्न ठाउँमा हावाहुरीले क्षती पुर्याएको छ । आज दिउँसो आएको हावाहुरीले वडा नम्बर ४ टिमुर गाउँ र वडा नम्बर ९ को राडीमा हावाहुरीले क्षती पुर्याएको हो । वडा नम्बर ४ को टिमुर गाउँमा रहेको इन्द्र ज्योती आधारभुत विद्यालय र वडा नम्बर ९ राडीमा रहेको प्रहरी कार्यालयको भान्सा घर र गाडी ग्यारेजमा क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिमुर गाउँमा रहेको कक्षा २ सम्म सञ्चालनमा रहेको इन्द्र ज्योती आधारभूत विद्यालयको तीन कोठे कच्ची भवनको जस्तापाता हावाहुरीले उडाएको छ । विद्यालय भवनको जस्तापाता करिव २० मिटर टाढा पुर्याएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयमा २ लाख ५० हजार बराबरको क्षती पुर्याएको छ ।
त्यस्तै आठबीसकोट नगरपालिका ९ राडीमा रहेको प्रहरीको भान्सा घर र गाडीको ग्यारेजको भवनमा पनि क्षती पुर्याएको छ । हावाहुरीले भान्सा घर र ग्यारेजको जस्तापाता करिव २ सय मिटर टाढा पुर्याएको छ । प्रहरी भान्सा घर र ग्यारेजमा गरेर ५ लाख बराबरको क्षेती भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
नगरपालिकामा अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार दुई ठाउँ गरेर करिव ७ लाख ५० हजार बराबरको क्षेती पुर्याएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।