नेकपा एमाले रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन आज पनि जारी रहने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार हिजो नै सकिनुपर्ने भए पनि नेतृत्व चयनमा ढिलाइ हुँदा अधिवेशन आज पनि जारी रहने भएको हो ।
अध्यक्षका लागि दुई जनाको दाबी रहेपछि अधिवेशन लम्बिएको एमाले स्रोतले जनाएको छ । शुक्रवार देखि नै सहमतिको प्रयास थालिएकामा हालसम्म पनि सहमति जुट्न सकेको छैन ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष नन्दराम देवकोटा र नारायणकुमार शाह आकाङ्क्षी देखिनुभएको छ । दुवैले अध्यक्षमा दाबी नछाडेपछि चुनाव हुने अवस्था देखिएको नेकपा एमाले रुकुम पश्चिमका एक नेताले जानकारी दिए ।
अधिवेशन आज दिनभरीमा सकिने नेकपा एमालेका कर्णाली प्रदेश सदस्य कर्ण ओलीले जानकारी दिनुभयो । अझै पनि सहमतिको प्रयास भइरहेको उहाँको भनाई छ । सहमति जुट्ने स्थिति नै आएन भने चुनावमा जानुको विकल्प नभएको उहाँको भनाई छ ।
अध्यक्ष मै सहमति जुट्न नसकेपछि अन्य पदमा भने कुनै छलफल नै सुरु हुन नसकेको ओलीको भनाई छ । शनिवार दिनभर प्रतिनिधि टुङ्ग्याउने काम सकिएको उहाँले बताउनुभयो । सहमति वा चुनाव जे भए पनि आज दिनभरमा अधिवेशन सकिने उहाँले जानकारी गराउनुभयो ।
नेकपा एमाले रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन शुक्रवार एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । अधिवेशन पार्टी कार्यालय मुसिकोट ५ बागबजारमा चलिरहेको छ ।