रुकुम पश्चिममा प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा जिल्ला क्रिकेट सङ्घको आयोजना र दिव्यानी स्पोर्टसको सह आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी वैशाख ३ गते देखि ५ गतेसम्म वडा नम्बर ६ को ट्याखोला खेल मैदानमा हुने जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ ।
प्रतियोगितामा रुकुम पश्चिमका ६ वटा पालिकाले प्रतिस्पर्धा गर्न पाउने छन् । खेलाडी पनि सबै जिल्ला भित्रकै रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार कप र प्रमाण पत्र पाउने छ । त्यस्तै उप विजेताले नगद २० हजार, कप र प्रमाण पत्र पाउने कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।
त्यस्तै व्यक्तिगत विधामा पनि खेलाडी पुरस्कृत गरिने छ । ओलीका अनुसार म्यान अफ द सिरिजले नगद ३ हजार, मेडल र प्रमाण पत्र पाउँदा वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट फिल्डर, वेस्ट विकेट किपर र इमर्जिङ प्लेयरले समान १५ सय नगद, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ सय, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जानकारी दिएको छ । साथै पालिका सरकारलाई क्रिकेट विकासमा ध्यान दिन दबाब सिर्जना गर्ने उद्देश्य समेत राखिएको सङ्घले जनाएको छ ।
जिल्लामा अन्य खेलको तुलनामा क्रिकेटमा लगानी कम रहेको अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिएको प्रदेश सदस्य ओलीले बताउनुभयो । बर्सेनि नियमित रूपमा प्रतियोगिता सञ्चालन गर्ने गरी पालिका स्तरीय क्रिकेट प्रतियोगिताको परिकल्पना गरिएको उहाँको भनाई छ ।