रुकुम पश्चिममा स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालालाई विपतको समयमा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमसँगको सहकार्यमा कर्णाली प्रदेश मानव संसाधन विकास केन्द्र सुर्खेतको आयोजनामा चार दिने तालिम सञ्चालन गरिएको हो । तालिम सञ्चालनका लागि युएनएफपीए र कोरियाले सहयोग गरेका थिए ।
विपतको अवस्थामा प्रजनन स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने भन्ने बारेमा सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक नकेन्द्र अर्यालले जानकारी दिनुभयो । विपतमा स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण पक्षहरू ओझेलमा पर्ने भएकोले त्यस्तो नहोस् भनेर स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, अपाङ्गताका क्षेत्रमा क्रियाशील सङ्घ संस्था लगायतका प्रतिनिधिहरूलाई तालिम दिइएको उहाँको भनाई छ । तालिमका सहभागीहरूलाई प्रजनन स्वास्थ्यका लागि न्यूनतम प्रारम्भिक सेवाका ६ वटा उद्देश्य पुरा हुने गरी सिकाइएको अर्यालले बताउनुभयो ।
उहाँका अनुसार यसको मुख्य उद्देश्य विपत् प्रभावित जनसङ्ख्यामा मृत्युदर, रुग्णता दर र अपाङ्गता न्यूनीकरण गर्ने रहेको छ । तालिममा प्रजनन स्वास्थ्यको परिचय, विपतको अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यको लागि नेपालमा मानवीय संरचना, विपतमा समावेशिता, यौन तथा लिङ्गका आधारमा हुने हिंसा, बलात्कार प्रभावितहरूका लागि क्लिनिकल व्यवस्थापन, विपतका अवस्थामा एचआइभी र यौन सङ्क्रमणको रोकथाम तथा नियन्त्रण र महिनावारी सरसफाइ व्यवस्थापनका बारेमा सिकाइएको थियो ।
त्यस्तै विपत् र त्यसपछिका अवस्थामा मातृ र नवजात शिशु स्वास्थ्य, विपतको अवस्थामा अनिच्छित गर्भधारणबाट बच्ने उपायहरू, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सामग्री र आपूर्ति व्यवस्था, विपतको समयमा प्रदान गरिने यौन तथा प्रजनन स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग कसरी एकीकरण गर्ने भन्ने बारेमा पनि सिकाइएको अर्यालले जानकारी दिनुभयो ।
तालिमबाट यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रवाह सम्बन्धी पालिका र जिल्ला स्तरीय कार्ययोजना समेत निर्माण गरिएको उहाँले बताउनुभयो । तालिमको सहजिकरण यौन तथा प्रजनन स्वास्थ्यका राष्ट्रिय विज्ञ डा. खेम कार्कीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा स्वास्थ्य सेवा कार्यालयका विनिता विष्ट र नेपाल रेडक्रसका कार्यक्रम संयोजक नकेन्द्र अर्याल रहनुभएको थियो ।
तालिममा पालिका स्वास्थ्य संयोजक, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल, भूकम्पबाट आंशिक तथा पूर्ण क्षति भएको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू, एकद्धार सङ्कट व्यवस्थापन केन्द्र, रेडक्रस, अपाङ्गताका क्षत्रमा क्रियाशील संस्थाका प्रतिनिधि लगायत गरेर ३२ जनाको सहभागिता रहेको थियो । तालिम सोमबार सकिएको हो । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतमको अध्यक्षतामा भएको कार्यक्रम मार्फत तालिम समापन गरिएको हो ।