Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा चैते धानको परीक्षण (फाेटाे फिचर)
चौरजहारी नगरपालिका वडा नम्बर ५ धुलेखेतका कृषक लोकेन्द्र परियारकाे खेतमा चैते धान राेपाइ हुँदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चैते धानको परीक्षण सुरु गरिएको छ । कृषि विकास कार्यालयले चैते धान विस्तार कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिकाका विभिन्न वडामा चैते धानको परीक्षण सुरु गरेको हो । गहुँ उत्पादन नहुने सिमसार क्षेत्रमा चैते धानको खेती गरी धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले जिल्लामा चैते धान विस्तार कार्यक्रम सञ्चालन भइरहेको कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।

Ropai-(7)-1712118826.jpg
 

उहाँका अनुसार गत वर्ष मुसिकोट नगरपालिकामा चैते धानको परीक्षण सफल भएपछि यो वर्ष चौरजहारी नगरपालिकामा विस्तार गरिएको हो । चौरजहारी नगरपालिकाका वडा नम्बर ३, ४, ५, ७, ८, १० र १३ नम्बर वडामा परीक्षण स्वरूप चैते धान रोपाइ चलिरहेको उहाँले बताउनुभयो । चौरजहारीमा करिब एक हेक्टर क्षेत्रफलमा चैते ५ नामक धानको रोपाई चलिरहेको प्रमुख केसीले बताउनुभयो । जहारीखोला आसपासका फाँटमा चैते धान परीक्षण भइरहेको छ ।

खोला आसपासका सिमखेतमा गहुँको उत्पादन नहुने भएकोले एक सिजन उक्त खेत बाँझै रहने अवस्थालाई रोक्न चैते धानको परीक्षण थालिएको केसीको भनाई छ । यस क्षेत्रमा परीक्षण सफल भयो भने अर्को वर्ष देखि व्यावसायिक रूपमा चैते धानको खेती सुरु हुने उहाँले बताउनुभयो । बर्खेको तुलनामा चैते धानको उत्पादन दर राम्रो हुने भएकोले परीक्षण सफल भई व्यावसायिक उत्पादन सुरु भएमा जिल्लामा धान उत्पादन बढ्ने र आयात घट्ने विश्वास कृषि विकास कार्यालयको छ ।

Ropai-(6)-1712118872.jpg
 

जिल्ला खाद्य सुरक्षित भए पनि चामलको आयात भने धेरै रहेको कार्यालयको भनाई छ । जिल्लाका सबै क्षेत्रमा चैते धानको परीक्षणलाई विस्तार गर्ने योजना कार्यालयको छ । चैते धानको परीक्षणले कृषकहरू उत्साहित भएका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ५ धुलेखेतका कृषक लोकेन्द्र परियारले बाँझो खेतमा धान रोप्न पाउँदा खुसी लागेको बताउनुभयो । परीक्षण सफल भएमा व्यावसायिक रूपमा चैते धानको खेती गर्ने उहाँले बताउनुभयो ।

Ropai-(4)-1712118900.jpg
 

फागुन पहिलो साता धानको ब्याड राख्नुभएका परियारको खेतमा हाल रोपाई चलिरहेको छ । यो धान चैत्र तेस्रो सातासम्म रोपाइ गरेर असार तेस्रो सातासम्म भित्र्याउन सकिने कृषि विकास कार्यालयका प्रमुख केसीले बताउनुभयो । त्यसपछि भने बर्खे धानको खेती गर्न सकिने उहाँको भनाई छ । गत वर्ष मुसिकोट नगरपालिकाको वडा नम्बर ४ र १३ मा चैते धानको परीक्षण सफल भएको थियो ।
Ropai-(3)-1712118938.jpg
Ropai-(2)-1712118965.jpg
Ropai-(1)-1712119034.jpg
चौरजहारी नगरपालिका वडा नम्बर ५ धुलेखेतमा राेपाइ हुँदै । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update