Kakhara सबैको खबर सम्पूर्ण खबर
दुर्गम सिस्नेमा विद्युत विस्तार हुँदै
विद्युत लाइन विस्तार गरिदै

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ ओख्रेना गाउँमा विद्युत लाइन विस्तारको काम जारी छ । विद्युत गृह निर्माणको काम सम्पन्न भएसँगै वडाको भट्टेचौर र ओख्रेनामा विद्युत लाइन विस्तारको काम चलिरहेको हो । दुई गाउँका स्थानीयले विद्युत लाइन विस्तारको लागि तार तान्ने, खाडल खन्ने र  पोल गाड्ने काम गरिरहेका छन् । वैशाख १ गतेसम्म गाउँमा विजुली बाल्ने गरी काम भइरहको स्थानीय मोतीराम बुढाले जानकारी दिनुभयो ।

विद्युत  विस्तार भएसँगै भट्टेचौरका १ सय ६० र ओख्रेना गाउँका १ सय ४० गरेर कुल ३ सय  घरपरिवारले विद्युत सेवा  लिनेछन् । यस भन्दा अघि स्थानीयले लामो समयसम्म दियालो तथा सोलार बत्ती प्रयोग गर्दै आएका थिए । अव केहि दिनमा विजुली बत्ती बल्ने भएपछि खुसी लागेको स्थानीय बुढाले बताउनुभयो । ५ वटा गाँउ रहेको १ नम्बर वडामा अझै पाखापानी, ठुला सिस्ने र लाम्पाखामा विद्युत विस्तार हुन सकेको छैन् ।

विद्युत पोल अभाव तथा भौगोलिक विकटताका कारण ती गाउँमा विद्युत लाइन विस्तारमा समस्या देखिएको वडा सदस्य डबलबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार साघुरो र भिरालो बाटो भएका कारण पोल ढुुवानी गर्न  समस्या देखिएको छ । आउँदो आर्थिक वर्षमा पोलको व्यवस्थापन गरेर वडाका सबै गाउँमा विद्युत विस्तार गर्ने लक्ष्य वडाले लिएको छ । ४३ किलोवाट विद्युत उत्पादन क्षमता रहेको पाखा ओलारी जलविद्युत आयोजनाबाट वडामा विद्युत सेवा प्रवाह हुनेछ ।  

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update