Kakhara सबैको खबर सम्पूर्ण खबर

नेकपा एमाले रुकुम पश्चिमले पार्टी सदस्यता बढाउने भएको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी सदस्यता बढाएर दोब्बर बनाउने घोषणा गरेको छ । जिल्ला पार्टी कार्यालय मुसिकोट ५ बागबजारमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनुका साथै आगामी कार्य योजनाका बारेमा जानकारी गराएको हो । जसमा पार्टीको सदस्य सङ्ख्यालाई अहिलेको भन्दा दोब्बर बढाउन सक्रियताका साथ लाग्ने भनिएको छ । एमालेले पार्टी सदस्य बढाउन अन्य पार्टीमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ ।

पार्टीको विचार जनतामाझ लैजाँदै भेटघाट र भलाकुसारीको माध्यमबाट विरोधीहरूको कित्ताबाट एमालेमा प्रवेश गराउन योजनाबद्ध रूपमा पहल गर्ने अध्यक्ष नन्दराम देवकोटाले बताउनुभयो । समग्रमा पार्टीलाई कसरी ठुलो बनाउन सकिन्छ भनेर ठोस योजनाका साथ अघि बढ्ने गरी सोचिएको उहाँको भनाई छ । उहाँका अनुसार एमाले रुकुम पश्चिम विगतका कमीकमजोरीलाई मनन गर्दै पार्टीलाई अधिवेशनको म्यान्डेट अनुसार अघि बढ्ने छ । त्यस्तै पार्टी केन्द्रको डेटलाइन अनुसार जेठ मसान्तभित्र पालिका र वडा अधिवेशन गरिसक्ने अध्यक्ष देवकोटाले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

यसका साथै एमाले रुकुम पश्चिमले संस्थागत भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान नै बनाएर जिल्ला र पालिकासम्म पुग्ने, स्थानीय सरकारबाट हुने ढिलासुस्ती र लापरबाहीलाई ध्यानमा राखी जनताले पाउने सेवालाई दुरुस्त बनाउन दबाब दिने र विकास निर्माण र सरकारी सुविधा वितरणमा भएको विभेदकारी कार्यलाई निरुत्साहित गर्न दबाब सिर्जना गर्ने भएको छ ।

DSC07845-1712139026.jpg
 

पार्टीको जिल्ला समिति बैठक सकेसम्म अन्तरपालिका, पर्यटकीय क्षेत्र जस्ता ठाउँमा गर्ने, सहिद र घाइतेका परिवारलाई सम्मान र संरक्षण गर्ने, विदेश पलायनलाई रोक्न मौलिकतामा आधारित आधुनिक उत्पादन प्रणालीमा जोड दिने, पार्टी केन्द्रको मिसन ८४ अभियानलाई सफल पार्ने र भूकम्प प्रभावितका अस्थायी टहरामा हावाहुरीले क्षति गरेकामा सोको व्यवस्थापनका लागि पालिकाको ध्यानाकर्षण गराउने पनि अध्यक्ष देवकोटाले बताउनुभयो ।

यसका साथै सामाजिक अराजकता र सांस्कृतिक विचलनलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, जायज मुद्दामा अन्य दलहरूसँग सहकार्य गर्ने र भूकम्प पीडितलाई दोस्रो किस्ता निकासा तथा स्थायी आवास निर्माणका लागि स्थानीय सरकारलाई दबाब दिने कार्यक्रम समेत एमालेले बनाएको छ । पत्रकार सम्मेलन मार्फत एमाले रुकुम पश्चिमले जिल्लामा हालसम्म गरेका महत्त्वपूर्ण गतिविधिका बारेमा समेत जानकारी गराइएको थियो । पत्रकार सम्मेलनको सञ्चालन पार्टी सचिव शशीराम नेपालीले गर्नुभएको थियो ।

चैत्र १६ देखि १९ गतेसम्म चलेको नवौं जिल्ला अधिवेशनबाट पुनः नन्दराम देवकोटाको अध्यक्षमा नयाँ जिल्ला कमिटी निर्माण गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update