रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ५५ वर्षमाथिका सबै नागरिकहरूको स्वास्थ्य अवस्था परीक्षण गर्ने भएको छ । दीर्घ रोगको अवस्था पहिचान र उपचार गर्न स्वास्थ्य परीक्षण गर्न लागिएको हो । नगरपालिका क्षेत्रभित्रका ५५ वर्षमाथिका उमेर समूहका ३ हजार ३८७ जना नागरिकको स्वास्थ्य अवस्था परीक्षणको तयारी गरिएको छ । मधुमेह, मृगौलासम्बन्धी समस्या पहिचानको लागि पिसाब जाँच, मुटु रोग, दम आदि रोगको अवस्था बारे परीक्षण गरिनेछ ।
स्वास्थ्य संस्थाका साथै टोलहरूमा २०८० चैत्र २६ गतेदेखि २०८१ वैशाख ४ गतेभित्र जाँच शिविर सञ्चालन हुनेछ । प्रत्येक वडामा तीन दिनका दरले शिविर सञ्चालन गर्ने कार्यतालिका निर्धारण गरिएको छ । पहिलो र दोस्रो दिन समुदायमा स्तरमा स्वास्थ्य परीक्षण गरिनेछ । अन्तिम दिन छुटेकाहरूलाई समेटने गरी प्रत्येक स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरिनेछ ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालाय र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमसँगको सहकार्यमा शुक्रबार स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । जाँच गर्ने तरिका, नमुना परिक्षण, अभिलेख व्यवस्थापन र परामर्शका विषयमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण समेत गरिएको हो ।
स्वास्थ्य परीक्षणका लागि ग्लुको मिटर, सुगर किड, युरिन पट, युरिन किड लगायतका सामग्रीहरू स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको छ । अभिमुखीकरण कार्यक्रममा चौरजहारी नगरपालिका अन्तगर्गतका स्वास्थ्य संस्थाका ४६ जनाको सहभागीता रहेको थियो । स्वास्थ्य परीक्षण शिविरले दीर्घ रोगको अवस्था पहिचान गरी नियन्त्रण गर्ने सहयोग पुग्ने छ । स्वास्थ्य सेवाको पहुँच घरदैलोसम्म पुर्याउन तथा स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वनयमा टेवा पुग्ने विश्वास गरिएको छ ।