रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडीमा जारी महोत्सवमा आज चर्चित गायिका तथा मोडल ज्योति मगरको प्रस्तुति रहने भएको छ ।
पहिलो दिन हिजो चर्चित गायक तथा मोडल रामजी खाँडको प्रस्तुति रहेकामा आज ज्योति प्रस्तुतिका लागि आउने महोत्सव संयोजक तुल देवकोटाले जानकारी दिनुभयो । ज्योति सबै उमेर समूहका दर्शक माझ चर्चित छिन । उनको जोसिलो प्रस्तुति हेर्नका लागि दर्शकहरू लालायित हुन्छन् ।
कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा बिहीबार ‘आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’ सुरु भएको हो ।
महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा ५० बढी स्टल रहेका छन् । महोत्सवको सह आयोजकमा समृद्ध कर्णालीका लागि हाम्रो चाहना रुकुम पश्चिम रहेको छ । त्यस्तै व्यवस्थापकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम र संरक्षकमा आठबिसकोट नगरपालिका रहेका छन् ।